१ मंसिर,काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा शनिबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवका साथै कर्तव्यको विषय भएको उल्लेख गर्दै वास्तविक कर संकलनका लागि कर प्रशासनलाई निर्देशन दिए ।
कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहभागिता लागत घटाउन र प्रविधिमैत्री जनशक्ति विकास गर्न जरुरी रहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।
अर्थमन्त्री पौडेलले करको दायरा बिस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने करदाता सेवाको गुणस्तरमा वृद्धि गर्न, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियता लिन आवश्यक रहेको बताए ।
उनले कार्य प्रक्रिया सरलीकरण गर्न, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन तथा कार्य विशिष्टिकरणका लागि थप सुधारका पहल कदमी लिन निर्देशन दिए ।
यसैगरी, सूचना प्रविधिको प्रयोगमा विस्तार एवं त्यसको गुणस्तरीयता र दिगोपना कायम गर्दै समय र लागत न्यून गरी सेवा प्रवाहमा प्रभावकारिताका लागि थप क्रियाशीलता लिन अर्थमन्त्री पौडेलको निर्देशन छ ।
संघीयताले आर्थिक केन्द्रहरू बिस्तार, खर्चका युनिट एवं आर्थिक गतिविधि बिस्तारित हुँदा अर्थतन्त्रको आकार बढ्दै गएपनि त्यसको अनुपातमा जसरी राजस्व संकलन बढ्नुपर्ने हो त्यो हुन नसकेको अर्थमन्त्री पौडेलको भनाइ छ ।
अर्थमन्त्री पौडेलले जिम्मेवार र जवाफदेही हिसाबले राजस्व संकलनमा केन्द्रित हुन सरोकारवाला सबैलाई निर्देशन दिए ।