Logo

३ मंसिर,जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा सम्पूर्ण निजी विद्यालयहरु सोमबारदेखि अनिश्चितकालका लागि बन्द रहने भएको छ ।

निजी विद्यालयका संगठनहरुले संयुक्तरुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि अनिश्चितकालका लागि संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । हिसान, प्याबसन तथा एनप्याबसनले संयुक्त विज्ञप्ति जारी गर्दै कक्षा ११ र कक्षा १२ मा अध्ययनरत्त विद्यार्थीहरुको हकमा जनकपुरधाम उपमहानगर र नेपाल विद्यार्थी संघबीच भएको सम्झौता सच्याउन आग्रह गरिए पनि बेवास्ता गरेको भन्दै आजदेखि संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

संयुक्त रुपमा जारी गरिएको सो विज्ञप्तिमा भनिएको छ ‘जनकपुरधाम नगर भित्र सञ्चालित संस्थागत विद्यालयहरुमा ‘छात्रवृत्ति वितरण व्यवस्थापन समिति’ मिति २०८१्,०५्,१३ गतेको निर्णयानुसार छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि मिति २०८१्/०५्/१४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरुमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरुबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पून २०८१्/०७्/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने भएकाले यसलाई सच्याउन उपमहानगरलाई पत्रमार्फत आग्रह गरिएको थियो ।’

जनकपुरधाम उपमहानगरपालिकाले पत्रअनुसार केही पहल नगरेकाले सम्पूर्ण निजी विद्यालयहरु मंसिर ३ गतेदेखि अनिश्चितकालका लागि बन्द गर्न बाध्य भएका छौँ जारी गरिएको सो विज्ञप्तिमा जनाएको छ । केही दिन अघि हिसान, प्याबसन तथा एनप्याबसनले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय भर्ना शुल्क निर्धारणसम्बन्धी गरेको निर्णयप्रति आपत्ति जनाउँदै फिर्ता लिन चेतावनीसमेत दिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाले छात्रवृत्ति वितरणमा मनोमानी गर्दै आएकोले छात्रवृत्ति वितरण व्यवस्थापन समिति गठनको माग गरेको प्याबसन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले बताए ।

 


सम्बन्धित समाचार