३ मंसिर,काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगाना आइतबार दिउँसो काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारकै क्रममा अस्ताए। कलेजोसँग सम्बन्धित समस्याका कारण उपचाररत ढुंगानाको ८३ वर्षको उमेरमा निधन भयो।
जन्मेपछि मृत्यु स्वाभाविक रहेको बताउने ढुंगानाले त्यसलाई स्वीकार्दै देह त्यागे। वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए।
उनको निधनपश्चात प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आइतबार नै एक दिन सार्वजनिक बिदा दिनुपर्ने बताएका थिए। तर, उनकै पार्टीले सरकारको नेतृत्व गरिरहेका बेलामा समेत उनको कुरा गम्भीरताका साथ लिइएन। र, सरकारले सोमबार बिहान मात्रै सरकारी अफिस खुल्ने समयमा सार्वजनिक बिदाको सूचना जारी ग¥यो।
साढे ९ बजेपछि मात्र सार्वजनिक बिदाको हल्ला चल्दासम्म लामो यात्राका कर्मचारी कार्यालय जानका लागि बाटोमा गुडिरहेका थिए। धेरैले अफिस पुगेपछि मात्र सार्वजनिक बिदा दिइएको थाहा पाए। ढिलो गरी भएको निर्णयका कारण थुप्रैले समस्या खेप्नुपर्यो।
केपी शर्मा ओली नेतृत्वको सरकारले आज दिएको सार्वजनिक बिदा ‘जब प¥यो राति तब बुढी ताती’ भन्ने नेपाली उखानसँग मिल्दो भएको भन्दै धेरैले त खिसिटिउरीसमेत गरे। प्रधानमन्त्री ओलीले आइतबार दिउँसो ३ बजे सामाजिक सञ्जालमार्फत् ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना,’ उनले लेखेका थिए। तर, सोमबार बिहानको नियमित मन्त्रिपरिषद् बैठकबाट मात्र ओली सरकारले सार्वजनिक बिदा दिने निर्णय ग¥यो।
बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने, स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाए। तर, त्यो कार्यालय खुल्ने समयमा गरिएको अनौठो निर्णय थियो। गृह मन्त्रालयले सरकारको निर्णय औपचारिक रुपमा सार्वजनिक गर्दासम्म कार्यालय सुरू भइसक्ने समय साढे १० भइसकेको थियो।
ढिला गरी गरिएको निर्णयले अनावश्यक रुपमा कैयौंको तेल खर्च भयो, समय खर्च भयो, सडक जाम भयो, विद्यार्थी, शिक्षक, कर्मचारी सबै अन्यौलमा परे। र, सबैले सरकारले ढिला गरि गरेको निर्णयको विरोध गरे।
धेरैले सामाजिक सञ्जालमा सरकारले ढुंगानाको योगदानको सम्मान नभइ हचुवा तालमा दिइएको बिदाले अपमान भएको टिप्पणी गरेका छन्। उनीहरूले समयमै सार्वजनिक बिदा दिन किन चुक्यो सरकार भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरिरहेका छन्।
एक्कासी सार्वजनिक विदा हुदा हामी सर्वसाधारण जनतलाई सेवा दिने बीर अस्पतालमा अपरेशन/गम्भीर रोगबाहेकका सबै सेवा प्रभावित भएका छन् ! यस्तो अवस्थामा दिउसो १२:३० बजेसम्म मात्र काम हुन्छ -सिताराम खड्का,सुचना अधिकारी,बीर अस्पताल !! pic.twitter.com/RtDoLadQBp
— पवनबर्षा शाह (@PawanBarshaShah) November 18, 2024
यो अकस्मातको सार्वजनिक विदा आबश्यक थिएन। बॅाचेकै बेला नेका, एमाले आदिले यी सक्षम, योग्य र अनुभवि नागरिकको निम्ति उपयुक्त राजकीय जिम्मेबारीको चॅाजोपॅाजो मिलाइदिएको भए बढी गा्ह्य हुन्थ्यो होला। कम्तिमा उनको सल्लाह, सुझाव सुनिदिएको भए हुन्थ्यो।
— Devendra Raj Panday (@DRP39) November 18, 2024
कर्मचारी कार्यालय पुगिसकेपछि सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाले घर जाउँ कि घुम्न जाउँ दोधारमा परेका छन्! pic.twitter.com/7MKoCcv19a
— Sunil Sapkota (@sunil_twite) November 18, 2024