७ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीओडी (टाइम अफ डे) मिटरका आधारमा महसुल उठाउन छाडेर उद्योगीको लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।
शुक्रबार सत्तारूढ दल नेकपा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै पार्टीको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले घिसिङको नाम नलिई उद्योगहरू ध्वस्त पारेको आरोप लगाएका हुन् ।
’निर्यात चौपट बनाइदिने, उत्पादन खतम हुने अवस्था निम्त्याइएको छ,’ प्रधानमन्त्री ओलीले भने, ’सरकारले टीओडी मिटरअनुसार समयमै शुल्क उठाउ भनेको छ । त्यो गर्न छाडेर लाइन काट्न हिँड्ने ?’ उनले विद्युत् महसुल आयोगले जे भनेको छ त्यसअनुसार गर्न र लाल आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताए ।
’दैनिक खपत गरेको मिटरअनुसार पैसा उठाऊ भनेको छ,’ उनले भने, ’लाल आयोगको प्रतिवेदन कार्यान्वयन नगर्ने, महसुल आयोगले जे भनेको छ त्यो नगर्ने ? अनि उद्योगको लाइन काट्ने ? मजदुरलाई बेरोजगार बनाउने ?’