१० मंसिर,काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण केका लागि हो भन्दै प्रश्न गरेका छन् ।
सोमबारदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा सम्बोधन गर्दै साहले भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै हो ? भन्दै प्रश्न गरेका हुन् । उनले यसबारे जनतालाई जानकारी नगराएको भन्दै आपत्ति जनाए ।
‘हामी सुन्दै छौँ प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ । यो भ्रमणको लागि भ्रमण हो कि तीर्थयात्रा हो ? देशको लागि भ्रमण हो कि व्यक्तिगत भ्रमण हो ? चीन भ्रमणबारे जनतालाई थाहा दिनुपर्ने हो, तर आज हामी अन्योलमा छौँ’, उनले भने ।
अर्को प्रशंगमा उनले अहिले विश्वसामु नै नेपालको इमेज खस्किँदै गएको टिप्पणी गरे । वर्तमान सरकारको व्यक्तिवादी र निहित स्वार्थ र सोचको कारण यस्तो अवस्था आएको उनको आरोप छ ।