Logo

२१ मंसिर, काठमाडौं । मूलुकमा देखिएको आर्थिक मन्दीको कारण वीमा क्षेत्रमा नकरात्मक प्रभाव पर्न थालेको छ । चालू आर्थिक वर्षको चार महिनामा करिव ५ अर्ब रुपैयाँको जीवन बीमा पोलिसी बापतको रकम सरेण्डर भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालू आर्थिक बर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर (बीमितलाई फिर्ता) भएको हो । जुन ३५ हजार ९८५ वटा पोलिसी वापतको रकम रहेको प्राधिकरणले जनाएको छ ।

यस अवधिमा सवैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको पोलिसी सरेण्डर भएको छ । यस कम्पनीको १० हजार ४८ वटा पोलिसी बापतको एक अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।

सर्वाधिक पोलिसी सरेण्डर हुने कम्पनीहरूको दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । यस कम्पनीको ८ हजार ४०८ वटा पोलिसी बापतको एक अर्ब ३७ करोड ४० लाख रुपैयाँ बराबरको सरेण्डर भएको छ ।

चालू आर्थिक बर्षको साउन देखि कार्तिक सम्म विभिन्न लाइफ कम्पनीहरुले पठाएको वित्तिय विवरणका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्राधिकरणका सह प्रवक्त पुन ज्ञवाली श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको ३७ करोड ४१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।

यसैगरी चौथो नम्वरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको २९ करोड ३१ लाख रुपैयाँको सरेण्डर भएको छ । यसका साथै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २७ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।

यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २२ करोड ७४ लाख, सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ११ लाख, मेट लाइफको १३ करोड ५३ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ३१ लाख र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५२ लाख बराबरको पोलिसी सरेण्डर हुँदा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५९ लाख बराबरको सरेण्डर भएको छ । यस्तै यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ६३ लाख र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड २९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

जीवन वीमा कम्पनीहरुले पोलिसी दिने समयमा बीमितहरुलाई प्रलोभनमा पार्ने, बार्षिक रुपमा नियमित रकम बुझान नसक्ने विमितहरुलाई समेत लोभ देखाएर क्षमता भन्दा बढी रकमको पोलिसी गर्न लगाउने समस्याका कारण यस्तो स्थिती देखिएको हुन सक्ने सह प्रवक्ता ज्ञवालीले बताउनु भयो । देशमा देखिएको आर्थिक मन्दी लगायत विभिन्न कारणले जीवन वीमा कम्पनीहरुमा पोलिसी सरेण्डरको दर बढदै गएको ज्ञवालीको भनाई छ ।

सरकारले वीमा बजारको सर्वे नगरी आर्थिक प्रलोभनका भरमा जथाभावी लाइसेन्स वितरण गरेको प्रभाव अहिले जीवन बिमा कम्पनीहरुमा देखिएको जानकारहरुको भनाई छ । नाफा खाने उदेश्यले वीमा कम्पनीहरुमा लगानी गरेका लगानीकर्ताको लगानी डुब्ने हो की भन्ने स्थिती देखिएको छ । नियमक निकाय वीमा प्राधिकरणले समेत जीवन वीमा कम्पनीहरुको राम्रोसँग अनुगमन नगरेको लगानीकर्ताहरुको भनाई छ ।


सम्बन्धित समाचार