Logo

२४ मंसिर, काठमाडौं । विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङले आगामी दुई दशकमा एसियाली फेसन अपरिहार्य बन्ने बताएका छन् । हङकङमा आयोजित फेसन एसियाको ‘फेसनका चुनौतीहरू’ विषयक छलफल सत्रमा बोल्दै उनले यस्तो कुरा बताए ।

‘एसियाली फेसनको भविष्यबारे म आशावादी छु’ सत्रमा उनले भने, ‘आगामी दुई दशकभित्र एसियातर्फको परिवार अपरिहार्य छ ।’ सो अवसरमा उनले मानिसले आफ्नो सफलतालाई आफ्नै परिभाषा अनुसार बाँच्नुपर्ने भन्दै प्रोत्साहित गरे ।

विश्वका विभिन्न भागबाट सिर्जनालाई बलियो बनाउन ‘क्रान्तिकारी र समावेशी फेसन उद्योगको निर्माण’ गर्नेहरूलाई शीर्ष स्थानमा देख्न आफूले चाहेको उनले बताए । ‘मलाई लाग्छ कि जोसँग शक्ति, पहुँच र पूर्वाधार छ, उनीहरुले यसबाट फाइदा लिइरहेका छन् । तर यसलाई प्रतिबिम्बित गर्न र सोच्ने कुरामा उनीहरुले सहयोग गरिरहेका छैनन्’, उनी यसलाई नैतिक प्रश्नको रुपमा हेर्छन्, ‘यी मुलुक उनीहरुका लागि पैसा मात्र दिने माध्यम बन्न सक्दैनन् ।’

सिंगापुरमा जन्मेर काठमाडौंमा हुर्केका गुरुङ अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामा, बेलायती राजकुमारी केट मिडल्टनदेखि विश्वचर्चित हलिउड र बलिउड सेलिब्रिटीको पहिरन डिजाइनले परिचित छन् । १४ वर्षअघि अमेरिकाको न्युयोर्कमा पीजी फेसन ब्रान्ड लन्च गरेयता एसियाली फेसनको प्रमुख आवाज बनेका छन् ।

द काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाका उपाध्यक्ष समेत रहेका उनले अमेरिकामा एसियालीअमेरिकीहरुको हकहितमा आवाज उठाउँदै आएका छन् ।


सम्बन्धित समाचार