Logo

२९ मंसिर,बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सिद्धियो भन्नेहरूलाई आउँदो २०८४ को निर्वाचनबाट देखाइदिने बताएका छन् ।
रुपन्देहीमा शनिबार पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई संशोधन गर्दै प्रचण्डले आउँदो निर्वाचनमा माओवादी २०६४ कै अवस्थामा फर्किने दाबी गरे ।‘

प्रचण्डको युग सिद्धियो भन्नेहरूलाई उप–चुनावले देखाइसकेको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘विगतमा भएका केही त्रुटीलाई आत्मसमीक्षा र सुधार गर्दै नयाँ प्रतिबद्धताका साथ गुणात्मक फड्को मार्ने गरी नयाँ उर्जाका साथ आउँदो निर्वाचनमा माओवादी २०६४ कै अवस्थामा फर्किन्छ । हामी जनतातिर फर्किन्छौं । फेरि प्रतिक्रियाबादीहरूलाई तह लगाउँछौं ।’

अहिलेको सरकार अप्राकृतिक र अँध्यारो कोठामा बनेको बताउँदै उनले यो सरकारको काम भ्रष्टाचारीलाई बचाउने र राम्रो गर्नेलाई सताउने रहेको दाबी गरे ।
‘विचार, इमानदारितामा को राम्रो छ भन्ने कुरा नेपाली जनताले बुझिसकेको छन्, अहिलेको सत्तारुढ दलका नेताहरू जिल्लामा जाँदा जनताले चोर नेता भन्ने थालेको छन् । नयाँ प्रतिवद्धताका साथ जनतामा जाने र जनताकै तागतले प्रमुख दल भनिनेको सत्ता पल्टाउछौं,’ उनले भने ।

आफू प्रधानमन्त्री भएको १८ महिनामा देशको लय गुमाएको अर्थतन्त्रलाई सही मार्गमा ल्याएको समेत दाहालले बताए । ‘मैले दुई छिमेकी राष्ट्र भारत र चीनका भ्रमणका क्रममा गरेको निर्णय ऐतिहासिक र दूरगामी छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि माथि पुगेको छ । जनतामा नयाँ आशा र भरोसा पैदा भएको छ,’ उनले भने ।

आफू ७३ वर्ष कटे पनि आफ्नो जोश २५ वर्षका युवाको भन्दा कम नभएको उनले बताए । ’आज बिहान मर्निङ वार्क गर्दा युवाहरू भन्दा अगाडि–अगाडि दौडिएको थिएँ । म कुनै क्षेत्रबाट कमजोर छैन,’ उनले भने। ।

पहिलोपटक प्रधानमन्त्री हुँदा धेरै अनुभव नभए पनि भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी र पुष्पलाल मार्ग आफ्नै पहलमा अघि बढेको दाबी गरे ।

१८ घण्टासम्मको लोडसेडिङबाट आक्रान्त देशलाई उन्मुक्ति गर्न कुलमानजस्ता विज्ञलाई एमडी बनाएर बनाएर लोडसेडिङ मुक्त देश बनाएको समेत दाहालले बताए ।


सम्बन्धित समाचार