Logo

२ पुष,काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

मंगलबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) पानीपोखरीमा रहेको स्वचालित प्रणाली (स्काडा कन्ट्रोल कक्ष) को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले खानेपानीको भरपर्दो, दिगो र न्यायोचित वितरण सुनिश्चित गर्न निर्देशन दिएका हुन्।

निरीक्षणका क्रममा मन्त्री यादवले भने, ‘काठमाडौँ उपत्यकामा खानेपानीको भरपर्दो र दिगो एवं न्यायोचित रूपमा नागरिकलाई शुद्ध, सफा पानी वितरण सुनिश्चित गर्नुहोला। सबै नागरिकले शुद्ध अनि सफा पानी खान पाउनुपर्छ।’

उनले थपे, ‘मैले काठमाडौँ उपत्यकामा स्वचालित प्रणालीको अनुगमन तथा निरीक्षण गरेको छु। यो प्रणालीबाट स्वचालित रूपमा खानेपानीको वितरण तथा सञ्चालन भइरहेको छ। साथै, पानी वितरणसँग सम्बन्धित विभिन्न तथ्याङ्क संकलन, चुहावट नियन्त्रण र अन्य बाँकी रहेका कामहरू यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएको छु।’

मन्त्री यादवले स्वचालित प्रणालीबाट पानी वितरण र नियन्त्रणका बाँकी कामहरू छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै भने, ‘काठमाडौँ उपत्यकामा पानी वितरणको सम्पूर्ण कामहरू चाँडो सम्पन्न गर्नुस्, ताकि नागरिकले समयमै शुद्ध र स्वच्छ पानी प्राप्त गर्न सकुन्।’

त्यस्तै, उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजनालाई सम्पूर्ण खानेपानी परियोजनाहरू समयमै सम्पन्न गर्न र चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिए। ‘समयमै नागरिकले शुद्ध पानी खान पाउन, पानीसँग सम्बन्धित रहेका सबै कामहरू तत्काल सम्पन्न गराउनु होला,’ मन्त्री यादवले जोड दिए।


सम्बन्धित समाचार