६ पुष,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा हिजो भएको तोडफोडमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नगरपालिकाले शिक्षकहरुलाई ६ महिनादेखि तलब नदिएपछि पठनपाठन प्रभावित भएको भन्दै आन्दोलमा उत्रिएका विद्यार्थीहरुले हिजो नगरपालिका कार्यालयमा प्रवेश गरेर तोडफोड गर्नुका साथै आगजनी पनि गरेका थिए । सोही घटनामा संलग्न दुईजनालाई पक्राउ गरेको हो ।
नगरपालिकाको भौतिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न रहेका दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले पुष्टि गरे । पक्राउ परेकाहरुको परिचय भने खुलाईएको छैन ।
विद्यार्थीहरु सानै उमेरको भएकाले परिचय नखुलाईएको प्रहरी नायव उपरीक्षक लम्सालले बताउनुभयो । बहुदरमाई नगरपालिकाका नगर प्रमुखले कानून विपरित प्रमुख प्रशासकीय अधिकृतलाई बजेट सञ्चालनको अख्तियारी नदिएपछि चुलिएको विवाद नगरपालिकाको भौतिक सम्पत्ति तोडफोडसम्म पुगेको छ ।
भौतिक सम्पत्ति तोडफोड र आगजनीले लाखौंको क्षति भएपनि नगर प्रमुख सिंगासन सा तेलीले समाधान नगरेर थप विवाद गर्न चाहेको आरोप स्थानीयले लगाएका छन् ।