८ पुष,काठमाडौँ । सहकारीको बचत अपचलन र सम्पत्ति शुद्धीकरणमा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ ।
सभापतिमाथि गम्भीर मुद्दा लागेपछि आगामी रणनीति तय गर्न रास्वपाले सोमबार अपरान्ह ४ बजे सचिवालयको बैठक बोलाएको उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले जानकारी दिए ।
आइतबार रविसहित ४४ जनालाई सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो ।
त्यसपछि रविले छलफलका लागि नेताहरूलाई पोखरा बोलाएका थिए । अर्यालसहितका नेता पोखरा पुगेर रविसँग छलफल गरेर काठमाडौं आउँदैछन् ।
‘म हिजै पोखरा पुगेर सभापतिसँग भेट गरेँ । आज पनि भेट भयो । भेटमा सभापतिको इस्युसहित पार्टीका गतिविधिका विषयमा पनि छलफल भएको छ,’ अर्यालले भने, ‘पोखराबाट काठमाडौं आउँदैछु । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न आजै ४ बजे सचिवालयको भर्चुअल बैठक जुममार्फत बस्छ ।’
बैठकमा सभापतिमाथि लागेको मुद्दा तथा उनको सांसद पद निलम्बनपछिको अवस्थाबारे छलफल गर्ने तयारी रास्वपाको छ ।प्रहरीले लामिछानेको सांसद पद निलम्बनको लागि आइतबार नै सभामुखलाई पत्र पठाएको थियो ।
सभामुखले छलफल गरी निलम्बन बारेको सूचना जारी गर्न सक्ने देखिएको छ । रवि रास्वपा सभापति र संसदीय दलका नेता हुन् ।
यसैले रास्वपा पार्टी सभापति एवं संसदीय दलको नेतामा कार्यवाहक तोक्नुपर्ने स्थितिमा पुगेको छ । संसदीय दलको सदस्य नै निलम्बनमा परेपछि रविलाई सभापतिमा बसिरहन पनि नैतिक संकट छ । यसैले दुवै पदमा रास्वपाले कार्यवाहक तोक्ने सम्भावना छ ।
कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल र संसदीय दलको कार्यवाहकमा उपनेता विराजभक्त श्रेष्ठलाई चयन गर्ने सम्भावना देखिएको छ ।