८ पुष,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी केन्द्रले सभापति पोखरेलको राजीनामा माग गरेको हो। सार्वजनिक लेखा समिति सरकारको चेक एण्ड ब्यालेन्स गर्ने निकाय भएकाले समिति सभापति प्रतिपक्षको हुनुपर्ने माग माओवादीको छ।
समिति बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका हुन्।
सांसद मोदीले समिति भ्रष्टाचार, कुशासन र बेतिथिको छायाँजस्तो देखिएको लगाए। उनले समिति सभापति आफैँ र परिवारका सदस्यमाथि समेत धेरै नकारात्मक प्रश्न उठेको भन्दै तत्काल सभापतिबाट मार्गप्रशस्त गर्नुपर्ने बताए।
उनले भने, ‘समिति सभापतिप्रति केही प्रश्नहरू उठेका छन्। सभापतिलाई थाहा छ। प्रश्न तपाईँको परिवारसँग पनि जोडिएको छ। सार्वजनिक लेखा समिति सभापतिमाथि प्रश्न उठेपछि सरकारलाई सुशासनमा राख्नुपर्ने वा सरकारलाई ब्यालेन्समा राख्नुपर्ने समिति सभापतिमाथि प्रश्न उठेपछि केही न केही बोल्नुपर्ने हुन्छ। सभापतिले मार्ग प्रशस्त गरिदिए राम्रो।’
उनले सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने समितिका सभापतिविरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए। उनले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेकाले समितिमा सभापतिको जवाफ पनि माग गरेका छन्।