Logo

६ माघ,वीरगञ्ज । बहुदरमाई नगरपालिकाका शिक्षकहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा तालाचाँबी बुझाउने तयारी गरेका छन् । नगरपालिकाका मेयर सिंगासन सा तेलीले बजेट सञ्चालनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिएपछि गएको साउनदेखि बहुदरमाई नगरपालिकामा सम्पूर्ण कामकाज ठप्प भएको छ ।

नगर प्रमुख तेलीले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफालाई विवादमा तानेर बजेटको अख्तियारी नदिएपछि समस्या उत्पन्न भएको हो । बजेट सञ्चालन गर्न नपाएपछि साउनदेखि बहुदरमाई नगरपालिकामा सबै काम ठप्प भएको छ ।

नगरपालिकाको २० सामुदायिक विद्यायलका शिक्षकहरुले अहिलेसम्म तलब सुविधा पाएका छैनन् । बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुले तलब सुविधा नपाएपछि नेपाल शिक्षक महासंघ पर्साले संस्थागत रुपमा नै आन्दोलनको घोषणा गरेको थियो ।

माघ १ गते बसेको नेपाल शिक्षक महासंघ पर्साको बैठकले माघ २ गतेबाट ६ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो । चरणबद्ध आन्दोलन गर्दा पनि आजसम्म कुनै सुनुवाई नभएपछि अब बहुदरमाई नगरपालिकाका २० वटा सामुदायिक विद्यालयका शिक्षकहरुले सामूहिक रुपमा जिल्ला प्रशासन कार्यालय पर्सामा तालाचाबी बुझाउने तयारी गरेका हुन् ।

तालाचाबी बुझाउने विषयमा अहिले नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ । बैठकपछि दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ताला चाँबी बुझाउने तयारी रहेको भंगी साह उच्च माविका प्रधानाध्यापक मनोज कुमार श्रीवास्तवले जानकारी दिए ।


सम्बन्धित समाचार