Logo

१६ माघ,वीरगञ्ज । पर्साको ३ वटा नगरपालिका मध्यको एक बहुदरमाई नगरपालिकाका नागरिक यतिखेर लाचार जनप्रतिनिधिका कारण निरिह भएर बस्नुपर्ने अवस्था छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा बहुदरमाई नगरपालिकामा तत्कालिन जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका सिंगासन सा तेली नगर प्रमुखमा निर्वाचित भए ।

अहिले पार्टी विभाजनपछि उनी जनता समाजवादी पार्टी (अशोक राई नेतृत्व) को जिल्ला अध्यक्ष समेत छन् । इट्टा व्यावसाय गरेर बसेका तेलीलाई एकाएक राजनीतिको भुत सवार भएपछि पैसावालालाई टिकट दिएर राजनीतिमा ल्याउने प्रवृत्तिले उनको भुत सवारलाई सहज बनाईदियो । फलस्वरुप पार्टीको टिकट पाएर निर्वाचित पनि भए ।

त्यतिखेर मतदाताले पनि इट्टाको व्यापार गर्ने व्यक्ति, पैसावाला पनि नगरपालिकामा राम्रै काम गर्लान् भन्ने लागेर भोट दिए । कतिपयले पार्टी हेरेर दिए होलान्, कतिपयले पहिलेका जनप्रतिनिधिलाई तह लगाउन अर्थात सवक सिकाउनका लागि पनि उनलाई मत दिए होलान् ।

तेलीले स्थानीय तहको बागडोर सम्हाले । शासन सत्ता त्यसमा पनि भर्खरैको नयाँ अभ्यासको स्थानीय सरकार सञ्चालनमा एक से एक द्विग्गज राजनीतिक नेतृत्व पनि असफल भएको अवस्थामा इट्टाको भट्टामा मजदुरलाई शोषण गरेर पैसा कमाउने प्रवृत्तिका व्यक्तिलाई राजतिलक सुम्पिएपछि उनीबाट यो भन्दा बढी आशा गर्ने ठाउँ त थिएन ।

जसका कारण आज बहुदरमाई नगरपालिकाका सोझा नागरिकले पाउनुसम्मको दुःख पाईरहेका छन् । बहुदरमाई नगरपालिकाले एक त संवैधानिक व्यावस्था अनुसार ल्याउनुपर्ने बजेट समयमा ल्याउन सकेन । असार १० गते तोकेको समयसीमामा बजेट ल्याउन नसकेको सिंगासन सा तेली नेतृत्वको बहदुरमाई नगरपालिकाका वडा अध्यक्षहरु नै उनी विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था नै सृजना ग¥यो ।

समयमा बजेट ल्याउन नसकेर दैनिक कार्यालय सञ्चालनको खर्च समेत नभएपछि वडा कार्यालयहरुबा प्रवाह गरिने सेवाहरु समेत प्रभावित भयो । वडा कार्यालयहरुमा सिफारिस गर्ने कागजहरु तथा स्टेशनरी सामानहरु समेत खरिद गर्न नसक्ने अवस्था भएपछि वडा अध्यक्षहरुले कार्यालय नै बन्द गर्नुपर्ने बाध्यता सृजना भयो । त्यसमा पनि तेलीमा अलिकति पनि दयाको भाव जागेन ।

उनी एकमना आफ्नो अनुकूलतामा चलिरहे । बजेट बनाउने प्रस्तुत गर्ने तथा नगरसभा बोलाउने विषयमा कुनै चिन्ता र चासो नै भएन । वडा अध्यक्षहरुको दबाव, नगर कार्यपालिका सदस्य लगायत राजनीतिक दलहरुको दबावले मात्रै पनि उनलाई छोएन । अन्तिममा चाडवाडमा कर्मचारीहरुलाई तलब खुवाउनुपर्ने अवस्था आएपछि कार्तिक ८ गते कनिकुथी नगरसभा बोलाए ।

११ औं नगरसभाबाट बजेट पारित भयो । दिपावली र छठमा कर्मचारीहरुलाई तलब खुवाउनु पर्ने भएकोले उनी नगरसभा गर्नुपर्ने दबावका कारण केही लचकता देखाउदै कार्तिक ८ मा ११ औं नगरसभा सम्पन्न भयो ।
त्यसपछि बहुदरमाई नगरपालिकाको विवाद झन् बढ्दै गएर उग्र रुप नै लियो । साउनदेखि यता नगरपालिकामा बजेट सञ्चालन गर्न पाएको छैन । कर्मचारीहरुले मासिक पारिश्रमिकहरु पनि पाउन सकेका छैनन् ।

नगरसभा सम्पन्न गरेपनि नगर प्रमुख सिंगासन सा तेलीले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट परिचालनको अख्तियारी नदिँदा समस्या अझ बढेको हो । स्वास्थ्य शाखामा कर्मचारी भर्ना गर्ने सम्बन्धमा आफूले भनेका व्यक्तिहरु छनोटमा नपरेपछि प्रमुख प्रशासकीय अधिकृतसँग तेलीको सम्बन्ध चिसियो ।

त्यहि तित्ततापूर्ण सम्बन्ध र उनको बालहठले अहिले बहुदरमाई नगरपालिकाको अवस्था जर्जर बन्दै गएको छ । चरमोत्कर्षमा पुगेको विवाद तोडफोड र आगजनी समेत भई नगरपालिकाको झण्डै एक कारोडको क्षति भएको छ । त्यसमा पनि स्थानीय सरकारका प्रमुख तेलीलाई केवल लाचारपन बाहेक न कुनै पश्चाताप न कुनै दयाभाव नै ।

नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुले साउन यता तलब सुविधा केही पनि पाएका छैनन् । शिक्षकहरुले तलब सुविधा नपाएर अध्ययन अध्यापन समेत प्रभावित भएपछि विद्यार्थीहरु नै नगरपालिकाको विरोधमा प्रदर्शन गर्दै कार्यालयको मूलगेटमा समेत ताला लगए । तरपनि सिंगासन सा तेली एकसुर निदाए ।

जनप्रतिनिधिको अति माथि अत्याचार भएपछि बहुदरमाई नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरुका शिक्षकहरुले तालाचावी संघीय सरकारको प्रतिनिधि संस्था जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाई दिए । ताला बुझाएको पनि बुधबार ११ दिन भएको छ ।

शिक्षकहरुको दबावले मात्रै नपुग्ने भएपछि शिक्षकको हकहितका लागि संगठित संस्था शिक्षक महासंघ जिल्लाले संस्थागत नेतृत्व नै गरेर प्रधानमन्त्री, शिक्षामन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्म गुहारेका छन् ।
तरपनि बहुदरमाई नगरपालिकाका नागरिकको लागि अहिलेसम्म कसैले दयाको भीख समेत दिन तयार छैनन् ।

आश्चार्य भनौ या दुर्भाग्य पर्साबाट अहिले संघीय सरकारका ३ जना मन्त्री छन् । संयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाको निर्वाचन क्षेत्रमा बहुदरमाई नगरपालिका पर्छ ।अर्को खानेपानी मन्त्री प्रदीप यादवको पार्टीका जिल्ला संयोजक नै बहुदरमाई नगरपालिकाको प्रमुख हुन् । सरकारमा पनि तीनै जना गठबन्धन दलका हुन् । तर, तीनै जना मन्त्रीहरुले अहिलेसम्म केही बोलेका छैनन् । उनीहरुलाई मत दिएर पठाएको जनताप्रति उनीहरुको जवाफदेहिता, उत्तरदायित्व र जिम्मेवारी केही पनि देखिएन । कुनै चासो र चिन्ता पनि देखिएन ।

होईन नगरसभा भएपछि पनि बजेट अभावमा जनताको घर आँगनको सिंहदरबारबाट यति सास्ती भोग्नुपरेपछि संघीयताप्रति नागरिकको बुझाई के हुन्छ ? नेतृत्व र जनप्रतिनिधिले बुझ्नुपर्छ कि पर्दैन ? शिक्षक महासंघले सरकारको नेतृत्व पनि एमालेले गरेको, शिक्षमन्त्री पनि एमालेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि एमालेकै रहेको तर्क गर्दै एमालेको जिल्लादेखि केन्द्रसम्म समस्या समाधानका लागि ज्ञापनपत्र पनि बुझाए ।

त्यसको परिणाम अझै निकाल्न सकेको छैन । जनताको पीरमर्का र पीडा बुझ्ने र स्थानीय तहको सरकारको अत्याचार विरुद्ध प्रतिपक्षी आवाज पनि हराएको छ ।
बहुदरमाई नगरपालिकामा राजनीतिक आग्रह पूर्वाग्रह र राजनीतिक व्यक्तिहरुको शक्तिको टकराव र बदलाको भावनाले निरीह बहुदरमाईवासी भने पीडित बनेका छन् । यसमा न त कुनै मानवअधिकारवादीको ध्यान गएको छ । न कुनै नागरिक समाजको आवाज नै सुन्न पाईन्छ । लाचार जनप्रतिनिधिका कारण बहुदरमाई नगरपालिकावासी निरीह बस्न विवश छन् ।


सम्बन्धित समाचार