२३ माघ,सेढवा । बिकृती हटाउन तथा खर्च कम गर्न पर्साका आदिवासी थारु समुदायमा दिउँसो बिवाह गर्ने चलन बढेको छ । परम्परागत चलन अनुसार लगातार तीन दिनसम्म बैबाहिक कार्यक्रम हुदा निकै खर्च बढ्ने हुँदा दिउँसो बिवाह गर्ने क्रम बढेको हो ।
राती बिवाह गर्न जन्ती लैजादा बेहुला र बेहुली दुबै पक्षलाई खर्चको भार बढेकाले दिउँसो बिवाह गर्ने प्रचलन बढेको थारु समुदायले जनाएका छन् । जिराभवानी गाँउपालिका वडा नं.–३ का वडाध्यक्ष सुरज राय थारुका अनुसार दिउँसो गरिने बैवाहिक कार्यक्रमका लागि रोडलाइट, पटाकाका साथ साथै एकै दिन भोज खुवाउनु पर्ने साथै रातीमा जन्ती जादा जन्तीमा सहभागीहरुले मदिराजन्य पदार्थ सेवन गरी हो हल्ला गने र झै झगडा समेत हुने संभावना बढी हुने भएकाले अहिले थारु समूदायका अधिकांश बिवाह दिउँसो नै हुने गरेको वडाध्यक्ष थारुले बताए।
यसका साथै मदिरा सेवन गरेकाहरुले तीब्र गतिमा सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढने भएकाले दिउँसो बिवाह गर्ने चलनले यस्ता दुर्घटनापनि रोकिने वडाध्यक्ष थारुले बताए। थारु कल्याणकारी समिति पर्साका अध्यक्ष भागवत प्रसादथ थारुका अनुसार दिउँसो बिवाहको अवधारणा धेरै अगाडी ल्याएपनि ४÷५ बर्ष पहिलेदेखि कार्यन्वन भएको बताए।
अहिले दिउँसो विवाहका साकारात्मक पक्ष राम्रो भएका कारण थारु समुदायमा हुने बैवाहिक कार्यक्रममध्ये ६० प्रतिशत भन्दा बढी विवाह दिउँसो हुने गरेको बताए। यसका अलावा तीन दिनसम्म चल्ने भोजलाई कटौती गरी दिन भरी मात्र संचालन गरिने चलन ल्याइएको र मृत्युमा पनि तेर्हौ दिनको तिथिमा दुई दिनसम्म हुने भोजलाई कटौती गरी एक दिनमा मात्र सिमित गर्ने चलन ल्याइएको अध्यक्ष थारुले बताए।
साथै बिवाहका लागि छेका अथवा देखौवा (टिकाटालो) कार्यक्रमका लागि बढीमा ११ जना सहभागिता गराउने नियम कार्यान्वयन भईरहको अध्यक्ष चौधरीले बताए।समाजमा विद्यमान कुरिती न्यूणीकरण गर्न केही समय लाग्ने अध्यक्ष थारुको भनाई रहेको छ ।
अझ सामूहिक बिवाहका लागि थारु कल्याणकारी समितिले पहल गरिरहेको थारुले बताए। सामूहिक विवाह गर्ने चलन लागू गर्नसके एउटै खर्चमा एउटै मण्डपमा ५÷६ जोडी बेहुला बेहुलीको बिवाह गर्न सकिने तथा आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोरा छोरीको बिवाह उचित तरिकाबाट गर्न सकिने थारुले बताए।