Logo

५ माघ, वीरगञ्ज । माघ महिना सुरु भएसँगै बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा शकंर भगवानको पूजा गर्न जाने कावँरिया बाबाहरुको चहलपहल बढेको छ । काँधमा सजाइएको काँवर लिएर नेपाल तथा भारतका विभिन्न धार्मिक स्थलमा काँवर बोकेर काँवरियाहरु जाने गरेका छन ।

साउन महिनामा महिला तथा पुरुष दुवैले शंकर भगवानको पुजा गर्ने गरेपनि माघ महिनामा भने विशेष पुरुषहरु नेपाल लगायत भारतका विभिन्न धार्मिक स्थलहरुमा काधँमा काँवर बोकेर पुग्ने गरेका छन् । काँधमा काँवर, शरिरमा पहेँलो धोती, खाली खुट्टा उनीहरुको धाम निस्किदाँको पहिरन यति नै हुन्छ ।

माघमा काँवर बोकेर जाने काँवरिया बाबाको छुट्टै महत्व छ । माघ महिनाको चिसोमा समेत विना जुत्ता, चप्पल, नाङगो शरिरमा केवल एउटा धोती बेरेर यात्रा गर्ने, घरबाहिर बस्दै उनीहरु पुजा गर्ने गर्दछन् । कठ्याँग्रिदो जाडो सँगै शितलहर भएपनि उनीहरुको उत्साह अलिकति पनि कम भने हुँदैन ।

स्थानीयहरुले समेत काँवरिया बाबाहरुको विभिन्न तरिकाले स्वागत गर्ने गर्दछन् । कतिपयले त उनीहरुको स्वागतको लागि घरमा पूजा गर्ने गर्दछन् जसलाई “बिटोर” भनिन्छ । बिटोर भएका घरमा काँवरिया बाबाहरु पुग्ने र त्यो दिन सोही ठाँउमा बस्ने गर्दछन् । फेरि भोली पल्ट उनीहरु अर्को स्थानको लागि निस्किने गर्छन् ।

उनीहरुको बसाँई भने घरभित्र नभई खोला, नदी, पोखरीको बगर वा पानी ट्याङकीमा तथा घर बाहिर व्यवस्थापन गरिएको स्थानहरुमा हुन्छ ।

सफा मन र शरिरले यो व्रत गर्ने भएकाले दिशा पिसाब लागेपनि नदि किनारमा शरिरका सबै लुगा निकालेर, कमण्डल लिएर जाने र सो पश्चात स्नान गरि ध्यान गरेर फर्किने नियम रहेको वीरगञ्ज महानगरपालिका–२९ लालपर्साका महेन्द्र महतोले बताए । उनले यो पाली आफू काँवर लिएर भारतको हरिद्वार जान लागेको जानकारी दिए । आफूले मागेको हरेक कुराहरु यस पूजाबाट भोले बाबाले पूरा गरिदिने उनको विश्वास छ ।

एकदमै कडा नियमका कारण उनीहरु कसैलाई गाली गलौज नगर्ने, धामको क्रममा झुटो बोल्न नहुने, जति नै चिसो होस् नुहाउनु पर्ने नियम छ । रविन्द्र उपाध्यायले भने, आफूहरुले शुद्ध मनले शंकर भगवानको पूजा गर्ने हुनाले यस क्रममा आउने बाधा तथा दुखहरुलाई भगवानले समाधान गरिदिनुहुन्छ ।

आफूहरु धाममा निस्किदाँ भाँडा बोकेर जाने तथा जहाँ नदी, पोखरी देखिन्छ त्यही रोकेर खाना बनाउने खाने, स्नान तथा ध्यान गर्ने रविन्द्रको भनाई छ ।

आफूहरुले पुजा गरेपछि कन्या केटिहरुलाई पुजा गर्ने, आरती गर्ने र चन्दन लगाइ दिने गरेको बताउछन्, वीरगञ्ज महानगरपालिका बहुअरीका रामेश्वर गिरी । काँवरिया बाबाहरुलाई समेत स्थानीयले चन्दन लगाईदिने र जसले जति सक्यो त्यति नै दक्षिणा दिने गरेको उनले बताए ।

काँवरिया बाबाहरु विशेष प्राथना गर्ने, गोजी गर्ने ( धामबाट ल्याएको ) काटँघाट स्नान गर्ने गर्दछन् । आफ्नो आत्मामा के सोच आउँछ आफूले त्यही पाउने उनको विश्वास छ । स्थानीयहरुले समेत क्षमता अनुसारको पकवान बनाएर खुवाउने उनले जानकारी दिए ।


सम्बन्धित समाचार