
११ फागुन,वीरगञ्ज । जिल्ला हुलाक कार्यालय पर्साबाट हुने सेवाहरू दिन प्रतिदिन घट्दै गइरहेको छ । आधुनिक सूचना प्रविधिको विकासले हुलाक सेवाबाट प्रवाह हुने सेवाहरु घट्दै गएको हो ।
जिल्ला हुलाक कार्यालय पर्सा तथा सो कार्यालय मतहत रहेका कार्यालयहरुले प्रदान गर्ने चिठीपत्र, डाँकसेवा र वैदेशिक तथा बुत सेवाहरू अहिले नामको लागि मात्र सञ्चालनमा रहेका छन्।
विगत आधा दशकदेखि हुलाक कार्यालय सरकारी चिठीपत्रको भरमा मात्रै चलिरहेको चलिरहेको अवस्था छ ।
आधुनिक सूचना प्रविधिले इन्टरनेट सेवामार्फत् सबै खाले सूचनाहरू इमेल, फेसबूक, म्यासेन्जर, वाट्सएप, इमो, भाइबर जस्ता एपहरूबाट प्राप्त गर्नेक्रम बढेपछि हुलाकबाट आउने चिठीपत्र निकै कम भएको जिल्ला हुलाक कार्यालय पर्साका सूचना अधिकारी चन्द्रदेव दास थारुले बताए ।
उनका अनुसार चिठीपत्रहरू स्वात्तै कम भएको छ । अहिले बिभिन्न सरकारी कार्यालयका कागजपत्र र बैंकिङ सेवाका केही कागजपत्रहरु बाहेक व्यक्तिगत चिठीपत्रहरू आउनै छाडेको बताए। यसका अलावा कतिपय सरकारी निकायका पार्सल पनि ल्याउन तथा पु¥याउने कार्यको सेवा प्रवाह गर्दै आएका अधिकारी थारुले बताए।
आधुनिक सूचना प्रविधिले सबै खाले सूचनाहरू इन्टरनेट सेवामार्फत् प्राप्त भइरहेको र केही बाँकी चिठीपत्रमा निजी कुरियर सेवाको पहुँच भएकोले हुलाक सेवा चिठीपत्रको लागि कमजोर बन्दै गएको छ। अहिले हुलाकबाट आउने सेवाहरू साधारणतया एक साताभन्दा कम समयमा प्राप्त हुँदैन ।
तीन वर्षअघिसम्म चिठीपत्रहरू काठमाडौंबाट आधा दशक अगाडी सिधा वीरगंजसम्म आउनेक्रममा यो सेवा जीवित पनि थियो । तर अहिले जिल्ला हुलाक कार्यालय पर्सा अन्तर्गत २६५ जना कर्मचारी कार्यरत रहेका छन। तर कार्यालयका अधिकांश कर्मचारी कामविहीन भएका छन्। बिगतमा जिल्ला हुलाक कार्यालय पर्सा बाहेक १४ वटा इलाका हुलाक कार्यालय र साबिक ६६ वटा गाबिसहरुमा १–१ वटा अतरिक्त हुलाक कार्यालयको स्थापना गरिएका थिए।
जसमा तीन–तीन जना कर्मचारी कार्यरत थिए। तर वीरगंजमै कम्तीमा तीन दिन लागेर आउने र वीरगंजबाट चिट्ठी पत्र ओसार पसार गरेर जिल्लाभर पठाएर त्यहाँबाट सम्बन्धित व्यक्तिहरूसम्म पुरÞ्याउन एक साता लाग्ने गरेको छ। अहिले सेकेन्डमा समाचारहरू पुग्ने प्रविधिहरू सक्रिय भएको बेला हुलाकको साताव्यापी कार्यक्रममा सहभागिता नबढेको हो ।
अदालती तथा बैंकिङ कारोबारका कागजपत्रहरुबाहेक हुलाकबाट अन्य कुनै चिठीपत्र आउनेक्रम रोकिएको छ। जिल्ला हुलाक कार्यालय अन्तर्गत स्थायी ५४, करार २६ र अतिरिक्तमा १७५ जना कर्मचारी कार्य गरिरहेका छन् ।
कर्मचारीहरुको उमेरको हद सरकारले ५८ बर्ष तोकि सकेको हुँदा अतिरिक्त हुलाक कार्यालयका कर्मचारी बिहिन भएपछि कार्यालय स्वतः खारिज हुने हुलाक कार्यालय पर्साले जनाएको छ ।
साथै अतिरिक्त हुलाकका कतिपय कर्मचारीहरुले आफै राजिनामा दिने गरेका हुदा अहिलेसम्म आधा दर्जनभन्दा बढी अतिरिक्त हुलाक कार्यालय बन्द भएका जिल्ला हुलाक कार्यालय पर्साले जनाएको छ ।