
१३ फागुन,सेढवा । पर्सा जिल्लाकै ऐतिहासिक तथा धार्मिक बोकेका जिराभवानी मन्दिरमा भोली महाशिवरात्रिदेखि एक साताका लागि मेला लाग्दै छ।
जिराभवानी गाँउपालिका यो मन्दिर वडा नं. १ र २ को दोसाँधमा पर्दछ। ग्रामीण भेगका थारु समुदाय लगायत अन्य समूदायबीचको ब्यापारिक, सामाजिक तथा अन्य पक्षको सम्बन्धमा यो धार्मिक स्थलले राम्रो भूमिका खेल्दै आएको छन् साथै हरेक समुदायले यो मन्दिरमा भएका देबीदेवताप्रति आस्था र विश्वास राख्दै आएका छन्। यो मेलाका प्रचिन किमदन्ती अनुसार मन्दिरको उत्पति आज भन्दा झन्डै ४०० बर्षभन्दा पहिले समान्य मठबाट थालिनी भएको हो ।
तत्कालिन अवस्थामा मन्दिर आसपास पर्ने सेढवा, महादेवपट्टी, पिपडाढी , परसवा, जीतपुर लगायतका क्षेत्रहरुका गाऊँहरु जंगलभित्रै थिए । सो गाँउहरुमा आदिवासी थारु समुदायको मात्रै बसोबास रहेको थियो । थारु समुदायमा अहिलेपनि खोलामा माछा, घोंगी, केकडा (गंगटो) मारेर त्यसको तरकारी खानु बिशेषता नै छ।
जिराभवानी मन्दिरसंगै पूर्वमा रहेकोे चमरी खोला त्यती बेला जंगलको बीचमा पर्दथ्यो। सो क्षेत्रमा जंगली जनावरको डरले दिउँसै आवागमन गर्न जो कोइलाई चुनौती हुन्थ्यो भने भनाई छ। महादेवपट्टी निवासी बिशुन महतोले खोकी (माछा मार्ने जाल) लिएर माछा मार्न सोही चमरी खोलामा पुग्ने गर्थे ।
खोलाको पानीमा खोकी (जाल) राख्दा एउटा पनि माछा नपरेर एउटा कालो ढुंगा परेको थियो । सो ढूंगालाई फालेर फेरी पानीमा खोकी जाल हान्दा सोही कालो ढुंगा फेरी जालमा परी रहने तर माछा भने एउटा पनि परेको थिएन। अन्त्यमा दिक्क लागेर उक्त कालो ढुंगालाई खोलाको किनारमा फाली बेलुका रितै घर फर्किए ।
घर पुग्दा परिवारले माछाको बारेमा सोध्दा बिशुनी महतो थारुले सबै कुरा बताए। राती सुत्दा उनले उक्त समान्य ढुंगा भगवान शिवलिंग भएको र ढुंगा फालिएकै ठाउमा मन्दिर निर्माण गरिनु पर्ने सपना देखे।भोलीपल्ट बिहानै थारुले सो शिवलिंग खोज्न खोलाको किनारमा पुगे।
शिवलिंग भेटेपछि सोही ठाउँमा राखी सानो झोपडी निर्माण गरी बिहान बेलुका पूजा अर्चना शुरु गर्न थाले। सो कुरा बिस्तारै फैलिन थाल्यो र भगवान शिवप्रति आस्था र विश्वास बढ्दै गएसंगै बिभिन्न चाडवाडमा पूजाअर्चना गर्न जनसमुदायको भीड बढन थाल्यो र हरेक बर्ष महाशिवरात्रीका दिनदेखि मेला लाग्ने परम्परा शुरु भएको हो ।
मठ स्थापनाको करीब ४÷र५० बर्षपछि यस क्षेत्रका जनताहरुले सो ठाउँमा मंदिर निर्माणका लागि धान गहुँ चन्दा उठाउन थालिएको र जिरा भनिने मिस्त्री (डकर्मी) ल्याएर पक्की मन्दिर निर्माण गरियो। निर्माण कार्य सम्पन्न भएपछि सोही स्थानमा जिरा मिस्त्रीको मृत्यू भयो जसले गर्दा आसपासको समपूर्ण जनता भगवान शिव रिसाएको भन्दै समुदायमा खैलाबैला मच्चिएको थियो ।
तर तत्कालिन स्थानीय बुद्धिजिवीहरुले मन्दिरमा दूर्गाभवानीको स्थान नदिइएका कारण सो मिस्त्री मृत्यु भएको ठहर गर्दै भवानी दुर्गाको मन्दिर स्थापना गरी डकर्मी जिराकै नामबाट जिरा भवानी माईको नामले नामाकरण गरेका र शिवमन्दिरलाई बाबा बटेश्वर नाथको नामले प्रसिद्ध हुन थालेको स्थानीयहरुको भनाई छ।
जिराभवानी मन्दिर स्थापनापछि यस क्षेत्रमा आइ पर्न सक्ने संकटबाट जिराभवानी माईले जोगाउदै गरेको जनबिश्वास रहेको छ । साथै यस मन्दिरमा बर्षभरी नै नेपालको बिभिन्न जिल्लाका साथै भारतको बिहार र यूपी सम्मका श्रद्धालुभक्तहरुको घुइचो लाग्ने गर्छ। पर्साको ग्रामिण किसानहरुले आफूहरुले लगाउने गरेका मूख्यबाली धानको पहिला केही अंश स्वरुप धानको बालाको मुठा बनाई जिराभवानी मन्दिरमा महाशिवरात्री मेलामै अर्पण गर्ने परमपरा रहि आएको छ ।
बर्षभरी यहाँ भक्तजनहरुको भीड भएपनि महाशिवरात्रिका दिनदेखि दश दिनका लागि ठूलो मेला गर्दछन। मेलाबाट ग्रामिण किसानहरुलाई चाहिने कृषि तथा अन्य सामग्रीहरु पनि यही मेलाबाट आपूर्ती गर्ने गरेको छ । किसानहरुले सालभरीसम्म पुग्ने गरी कृषि औजार, घरेलु हतियार, भाडाकुडा कुकर लगायतका घरेलु सामग्रीहरु खरीद गर्दछन्।
यो मेलाको फलमा बयर , भाडाकुडामा कराई र कृषि सामग्रीमा कोदालो भने एकदमै प्रख्यात रहेका छन। यही ऐतिहासिक मन्दिरको नामबाट यस गाउँपालिकाको नामकरण गरिएको छ । जिराभवानी मन्दिर परिसरको करिब १० बिघा जग्गामा रहेको लाखौ मूल्य बराबरको बगैचा भएपनि राष्ट्रीय स्तरबाट यसको संरक्षणमा कुनै किसिम्मको पहल देखिएका छैन।
स्थानीय बासिन्दाहरुको पहलमा चन्दा संकलन गरी यहा आधा दर्जनभन्दा बढी देबीदेवताको मन्दिर निर्माण भएका छन् । भने पर्खाल, बिबाह मण्डप, चौतारा, प्रतिक्षालय निर्माण भईसकेको छ। । खुल्ला दिसामुक्त क्षेत्र अभियान अन्तगर्त तत्कालिन जिबिस पर्साले पाचकोठे पक्की शौचालय समेत निर्माण गरिएको छ ।
संघीयता लागू भएसंगै मन्दिरको संरक्षणमा सुधार गर्न थालिएका छन। तर स्थानीय सरकार गठन भएपछि स्थानीय, प्रदेश सरकारले मन्दिर लगायत अन्य संरचनाका बिकास गर्छै आएका छन। मन्दिरको संरक्षण तथा सम्बद्र्धनका लागि गत बर्ष बैधानिक रुपमा समिति समेत गठन भएका छन।