Logo

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकपटक पुनः अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘अहिलेको समयमा युद्ध उचित नभएको’ प्रतिक्रिया जनाएर युद्ध रोक्ने आशयको सन्देश दिएपछि मोदी अन्तर्राष्ट्रियस्तरमा चर्चामा आएका हुन् ।

‘अहिलेको समय युद्धको होइन, अहिलेको वैश्विक चिन्ता खाद्य सुरक्षा, इन्धन सुरक्षा र मलको विषय हो,’ उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) को बैठकका क्रममा शुक्रबार पुटिनसँग भएको साइडलाइन वार्तामा मोदीले भने । पुटिनलाई दिएको उक्त सुझावले मोदी भारतमा मात्रै होइन, अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि छाएका छन् । बीबीसीका अनुसार सांघाई शिखर सम्मेलनका क्रममा भएको मोदी र पुटिन भेटवार्ता तथा त्यसक्रममा मोदीले दिएको सुझावको सर्वत्र चर्चा पाएको हो । अमेरिकी, रुसी सबैतिरका सञ्चारमाध्यमहरूले दुई नेताबीचको भेटमा मोदीले दिएको सुझावलाई प्राथमिकताका साथ समाचार बनाएका बीबीसीले जनाएको छ ।

शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि उपस्थित थिए । सी र पुटिनबीच पनि भेटवार्ता भएको थियो । त्यहाँ पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफदेखि मध्य एसियाली देश कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान र बैठक आयोजक उज्बेकिस्तानका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी थिए । तर, चर्चा भने मोदीको भयो । चिनियाँ राष्ट्रपति सी र पाकिस्तानी प्रधानमन्त्री सरिफसँग भने मोदीको छुट्टै भेटवार्ता भने भएन । दुवै देशसँग भारतको सीमाका विषयमा तनाव रहँदै आएको छ ।

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि गरेको आक्रमणले ७ महिना पुग्नै लागिसकेको भए पनि दुवै देशबीच युद्ध जारी छ । अमेरिकासहित पश्चिमा शक्तिशाली देशहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा मात्रै गरेका छैनन्, रुसमाथि धरै खाले प्रतिबन्धहरू लगाएका छन् । पश्चिमा देशहरूको दबाबसामु पनि भारतले रुससँगको आफ्नो सम्बन्ध यथावत् राखेको छ । युद्धको दौरान पनि भारतले रुससँग सस्तो मूल्यमा इन्धन खरिद गर्दै आएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि रुसी राष्ट्रपति पुटिनसँग मोदीको पहिलो भेट सांघाई शिखर सम्मेलनमा भएको हो । त्यस क्रममा उनले पुटिनलाई युद्ध रोक्न दिएको सन्देशले महत्त्वपूर्ण मानिएको छ । मोदीको आग्रहपछि पुटिनले आफू युक्रेनसँगको युद्ध छिटो रोक्न हरेक कदम चाल्न तयार रहेको बताएको समाचार पनि बाहिर आएको छ । तर, युक्रेन वार्ताका लागि तयार नभएकाले समस्या आएको पुटिनको भनाइ छ । उनले भारतीय प्रधानमन्त्री मोदीलाई युक्रेनसँग हुने हरेक ‘डेभलपमेन्ट’ बारे जानकारी गराउने आश्वासनसमेत दिएका छन् । भारतीय मिडियाहरूले मोदी र पुटिनबीचको भेटवार्ता र कुराकानीलाई मुख्य समाचार बनाएका छन् । मोदीले पुटिनसँग ‘थ्री डी’ (डेमोक्रेसी, डिप्लोमेसी र डायलग) को उपायबाट शान्तिको बाटो अपनाउन सुझाव दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै सहजै जित हासिल गर्ने ठानिएको थियो । तर रुसले सोचेअनुसार सफलता भने पाउन सकेको छैन । पछिल्ला दिनमा युक्रेनले उत्तर–पूर्वी खर्किभ क्षेत्रमा गुमाएको ८ हजार वर्गकिलोमिटर भन्दा धेरै क्षेत्रफल फिर्ता गरिसकेको छ । तर रुसी राष्ट्रपति पुटिनले भने पनि आफ्नो लक्ष्य पूरा नभएसम्म युद्ध नरोक्ने बताउँदै आएका छन् ।

पुटिनले आफू हतारमा नरहेको र युक्रेनको डोन्बास क्षेत्रमा आक्रमण जारी रहने बताएका छन् । युक्रेन युद्धमा रुसले हालसम्म आफ्नो पूर्ण सैन्य शक्ति नखटाएको पुटिनको दाबी छ ।

‘डोन्बासमा हाम्रो कारबाही रोकिएको छैन । हाम्रा सेना अघि बढिरहेका छन् । उनीहरूले क्रमशः धेरै र अधिक क्षेत्र नियन्त्रणमा लिइरहेका छन्,’ पुटिनले भने । युक्रेनविरुद्ध हालसम्म आधिकारिक रूपमा युद्धको घोषणा नगरेको रुसले आफ्नो आक्रमण ‘विशेष सैन्य कारबाही मात्र भएको बताउँदै आएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्धमा रासायनिक वा सामरिक परमाणु अस्त्र प्रयोग नगर्न रुसलाई चेतावनी दिएका छन् । त्यस्ता कदमले दोस्रो विश्वयुद्ध यता कहिल्यै नदेखिएको युद्धको अवस्था उत्पन्न हुने उनको भनाइ छ ।

एक अन्तर्वार्ताका क्रममा बाइडेनले त्यस्ता अस्त्रको प्रयोग भयो भने अमेरिकाले के–कस्ता कदम चाल्छ भन्नेबारे भने केही उल्लेख गरेनन् । गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुसी पुटिनले युक्रेनमा आमविनाशकारी अस्त्र प्रयोग गर्ने सोचिरहेको भए के गर्नुहुन्छ भन्ने प्रश्नमा राष्ट्रपति बाइडेनले भनेका छन्, ‘त्यसो नगर्नुस् ।’

राष्ट्रपति भ्लादिमिर पुटिनले देशको परमाणु फौजलाई ‘विशेष सतर्कतामा रहन’ आदेश दिएका थिए । करिब ८ दशकदेखि अस्तित्वमा आएका परमाणु हतियारलाई अधिकांश देशहरूले आफ्नो राष्ट्रिय सुरक्षाका लागि ती हतियार आवश्यक भएको दाबी गर्छन् । त्यसका साथै युद्ध रोक्ने रणनीतिक उपायका लागि पनि परमाणु अस्त्र आवश्यक भएको उनीहरूको भनाइ छ ।

फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट्सका अनुसार हाल रुससँग ५ हजार ९ सय ७७ वटा परमाणु अस्त्र छन् । सामरिक परमाणु अस्त्रहरू तुलनात्मक रूपमा मध्यम तथा छोटो दूरीमा मार हान्नका लागि प्रयोग गरिन्छ । तर रणनीतिक परमाणु अस्त्रले भने लामो दूरीमा प्रहार गर्न सकिन्छ । ती हतियारले पूर्ण आकारको परमाणु युद्ध निम्ताउने सक्छ ।


सम्बन्धित समाचार