Logo

५ असोज, वीरगञ्ज ।

अघिल्ला वर्षहरूमा ६ महीनाअघिदेखि नै व्यापारीलाई दशैं लाग्थ्यो । चाडपर्वलक्षित मागलाई लक्षित गरेर उनीहरूले चैततिरै मालसामान ‘अर्डर’ गर्थे । चाडपर्वलाई चाहिने दैनिक उपभोग्य बस्तुमात्र होइन, लत्ताकपडादेखि गाडीसम्मका विलासी सामान किन्नेको भिड हुन्थ्यो बजारमा । यसपालि भने दशैं आइसक्न लाग्दा पनि बजारमा कुनै किसिमको उत्साह नदेखिएको औसत व्यापारीहरूको गुनासो सुनिन्छ ।

सरकारले आयातमा गरेको कडाइ र बैंकहरूको कर्जा लगानी असहज भएपछि बजार प्रभावित भएको बुझाइ व्यावसायीहरूको छ । बारा–पर्सा उद्योग संघका उपाध्यक्षसमेत रहेका उद्यमी रमेश अग्रवाल बजार चरम मन्दीमा गइसकेको दाबी गर्दछन् । उनी भन्छन्, ‘पोहोर परार भदौदेखि नै दशैंको किनमेल शुरू भइसक्थ्यो । यस वर्ष दशैं मुखैमा आइसक्दा पनि यसको संकेतसमेत देखिएको छैन,’ अग्रवालले भने ।

राजधानी काठमाडौंमा कपडाको पसलसमेत सञ्चालन गर्दै आएका अग्रवालले अघिल्लो वर्ष चाडपर्वका बेला दैनिक १५ सयदेखि २ हजार ग्राहक पसलमा आउने गरेकोमा अहिले २०÷२५ जना पनि पुग्न नसकेको सुनाए ।

सम्भावित आर्थिक संकटको आशंकामा अधिकांशले खर्च कटौति गरेकाले बजारमा माग घटेको उद्यमी सतीस चाचानको बुझाइ छ । कोरोना महामारीयता हरेक बस्तुको मूल्य बढ्नु, तर माग घट्नुले बजार नै असन्तुलित भएको चाचान बताउँछन् । ‘कोरोना महामारीयता सबैको आय घटेको छ । त्यहिँमाथि नियन्त्रणमुखी सरकारी नीति र संकटको हल्लाले गर्दा मानिसले अत्यावश्यकीय कुरामा मात्रै खर्च गरेको छ । यसको प्रभाव बजारमा देखिएको हो ।

अघिल्ला वर्षहरूको तुलामा २० देखि २५ प्रतिशतमा झरिसकेको दाबी व्यावसायीहरू गर्दछन् । ‘बजारमा नयाँ माग छैन । पुरानो उधारो भुक्तानीसमेत उठ्न सकिरहेको छैन । यस्तै हो भनेर व्यापार चक्र नै धरापमा पर्न सक्दछ,’ नेपाली युवा उद्यमी मञ्चका निवर्तमान अध्यक्ष अनुप अग्रवालले भने ।

मुख्य नाका नै सुनसान !

बजारमा माग नै नभएपछि व्यापार सहजीकरणका सरकारी निकाय पनि फुर्सदिला देखिएका छन् । आयात निर्यात कारोबारका हिसाबले प्रमुख भन्सार नाका वीरगञ्ज यतिबेला सुनसानजस्तै छ । अघिल्ला वर्षहरूमा साउनदेखि नै भन्सारमा आयातकर्ता र तिनमा प्रतिनिधिहरूको भिडभाड बढ्थ्यो । यस पटक त्यस्तो भएन ।

दशैंको मुखमा अन्य समयभन्दा बढी सामान आयात हुनेमा यसपालि त्यस्तो नदेखिएको भन्सारका अधिकारीहरु बताउँछन् । मालसमान छुटाउन आउने आयातकर्ता र प्रतिनिधिहरूको चहलपहल बढी हुने यो समयमा भन्सार सुनसानजस्तै भएको उनीहरूले सुनाए ।

एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह सञ्चालन र नियमन गरिरहेको निकाय नेपाल इन्टरमोडल यातायात विकास बोर्ड (एनआईटीडीबी)ले यस वर्ष भन्सारमा चाडपर्वलक्षित व्यापारको रौनक नदेखिएको बताएको छ । एनआईटीडीबीका वीरगञ्ज प्रमुख कमल ज्ञवालीका अनुसार अघिल्लो वर्षको तुलनामा चालू वर्ष २०७९÷८० मा आधाभन्दा पनि कम मालसामान भित्रिएको छ ।

‘गत वर्षभन्दा अहिले आयात स्वाट्टै घटेको छ । मालबस्तु बोकेर भित्रिने गाडीको संख्या नै घटेपछि भन्सारमा चहलपहल पनि खस्किएको छ,’ उनले भने । गत वर्ष भदौ महीनामा दैनिक ७÷८ सयको गाडी मालसामान भित्रिने गरेकोमा यो संख्या घटेर अहिले ३÷४ सयमा सीमित भएको एनआईटीडीबीले बताएको छ ।

बैंकको कर्जा लगानीमा कडाइ र माग खस्किएपछि भन्सारमा आइपुगेका नयाँ सवारी साधन पनि पास हुन सकेका छैनन् । यसमा सरकारले लगाएको आयात प्रतिबन्ध र पैसाको अभाव कारण रहेको बुझाइ भन्सार अधिकारीहरूको छ ।

गाडी जाँचपास करीब ठप्प भएपछि अहिले भन्सार हातामा १८ सयभन्दा बढी गाडी थन्किएको एनआईटीडीबीले बताएको छ । चाडपर्वलक्षित मालसामान नआएर सुनसान बनेको नाकामा जाँचपास हुन नसकेर थन्किएका सवारी साधनको व्यवस्थापन भने चुनौती बन्दै गएको ज्ञवालीले बताए ।


सम्बन्धित समाचार