१२ जेठ, काठमाडौं । एशियाली मुलुकहरूमा पुनः कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलन थालेको छ। दक्षिण–पूर्वी एसियामा कोभिड–१९ का नयाँ भेरियन्टहरू देखा परिरहेका छन्, जसको प्रभाव विशेषगरी भारतमा गम्भीर रूपमा देखिन थालेको छ। छिमेकी मुलुक भारतमा संक्रमणको दर उच्च बन्दै गएको छ, तर नेपालमा भने अझैसम्म सतर्कता र तयारीको स्पष्ट अभाव देखिएको छ।
भारतमा संक्रमणको अवस्था
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या १ हजार ९ पुगेको छ। सबैभन्दा बढी केरलामा ४३० जना संक्रमित भेटिएका छन्। त्यसपछि महाराष्ट्रमा २०९, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ र उत्तर प्रदेशमा १५ जना संक्रमित देखिएका छन्।
केरलामा संक्रमण दर विशेष रूपमा उच्च रहेको छ भने, राजधानी दिल्ली र आर्थिक राजधानी महाराष्ट्रमा पनि उल्लेखनीय संख्यामा संक्रमित भेटिनु चिन्ताजनक मानिएको छ। बीबीसी हिन्दीले जारी गरेको विवरण अनुसार अन्य राज्यहरू—जस्तै राजस्थान, पश्चिम बंगाल, हरियाणा, पुडुचेरी, आन्ध्र प्रदेश, मध्य प्रदेश, तेलंगाना, गोवा र छत्तीसगढ—मा समेत संक्रमित भेटिएका छन्।
यद्यपि कर्नाटक राज्यका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले हालको संक्रमणको अवस्था ‘हल्का’ रहेको दाबी गरेका छन्। उनले भनेका छन्, “भारतमा रिपोर्ट गरिएका कोभिड–१९ का केसहरू सामान्य लक्षणयुक्त छन्। कतिपय मृत्युका घटनाहरूमा कोभिड सँगसँगै अन्य रोगहरू पनि देखिएका छन्।” तर पनि उनले सतर्कता आवश्यक रहेको जनाउँदै केही स्वास्थ्य परामर्शहरू जारी गरिएको बताएका छन्।
नेपाल सरकारको उदासिनता
छिमेकी देशमा संक्रमण विस्तार हुँदै जाँदा नेपालमा भने तयारी नहुँदा जोखिम बढ्न थालेको छ। विशेष गरी खुला सीमाबाट दैनिक रूपमा हजारौँ मानिसहरू नेपाल–भारत पार गरिरहेका सन्दर्भमा स्वास्थ्य परीक्षणको व्यवस्था नहुनु गम्भीर लापरबाही हो। सीमा नाकाहरूमा न कुनै स्वास्थ्य चेकजाँच छ, न त कुनै निगरानी प्रणाली सक्रिय छ।
नेपाल सरकारले कोभिड–१९ को सम्भावित नयाँ लहरलाई ध्यानमा राखेर न कुनै रणनीति सार्वजनिक गरेको छ, न त स्वास्थ्य सामग्रीको जोहो, अस्पताल तयारी वा जनसचेतना अभिवृद्धिका कार्यक्रम नै सञ्चालन गरेको छ। महामारीको विगतको अनुभव हुँदाहुँदै समेत अहिलेको उदासिनता नेपाललाई जोखिममा धकेल्ने देखिएको छ।
संक्रमण नियन्त्रणका चुनौती र सम्भाव्यता
विशेषज्ञहरू भन्छन्, “नयाँ भेरियन्टको संक्रमण हल्का भए तापनि यो छिटो फैलने खालको छ। यदि समयमै नियन्त्रण गरिएन भने वृद्धवृद्धा, दीर्घरोगी तथा कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूमा गम्भीर असर पर्न सक्छ।” भारतमा देखिएको अवस्था नेपालको लागि चेतावनी स्वरूप लिनु आवश्यक छ।
नेपाल सरकारले अब ढिलो नगरी कम्तीमा निम्न तयारी गर्नुपर्छस्
- सीमा नाकाहरूमा अनिवार्य स्वास्थ्य परीक्षण सुरु गर्न
- अस्पतालहरूको तयारी अवस्था पुनरावलोकन गर्न
- परीक्षण, उपचार र खोप अभियानलाई पुनः सक्रिय गर्न
- जनसाधारणलाई सचेत बनाउने सूचना अभियान सञ्चालन गर्न
भारतमा पुनः देखिएको कोभिडको लहर नेपालका लागि गम्भीर चेतावनी हो। नेपाल सरकारको निष्क्रियता र योजना विहीनताको मूल्य आमनागरिकले चुकाउनु नपरोस् भन्नका लागि अब पनि ढिलो छैन। संक्रमणको जोखिमलाई नजरअन्दाज गर्नुको सट्टा समयमै सावधानी अपनाउनु नै सबैभन्दा बुद्धिमानी हुनेछ।















