Logo

२ फागुन, वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रकले जिम्मा लिएको कृषि औजार कारखानाले चार प्रकारका उपकरण उत्पादन शुरु गरेको छ । कारखानाले परिक्षणको रुपमा उत्पादन शुरु गरेको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिकको समूहले कारखानामा कृषि औजारको परीक्षण उत्पादन गर्न थालेका छन । बेल्चाको सफल परीक्षण उत्पादन गरिसकेको केन्द्रको वैज्ञानिक टोलीले अब कुटो, कोदालो, गैंटीजस्ता कृषि औजारको उत्पादन शुरु गरेका छन् ।

केन्द्रका मेकानिकल इन्जिनियर प्रज्जवल कोजुले २/३ दिन भित्रै यी उपकरणको परीक्षण उत्पादन गरी सक्ने लक्ष्य रहेको बताए । उनले उद्योग सञ्चालनका लागि २/२ वटा मिलिङ र लेथ मेसिन, ४ वटा ड्राई प्रेसर, २ वटा आयल फर्नेस‚ एउटा कोइला फर्नेस र २ वटा ह्यामर सञ्चालन गरिसकेको जानकारी दिए ।

तत्काललाई यी उपकरणबाट केही कृषि औजार उत्पादन गर्न सकिने र क्रमशः कारखानामा रहेका अन्य उपकरण पनि सञ्चालन गर्दै जाने लक्ष्य रहेको उनको भनाई छ । उद्योगमा करिब ५ दर्जन साना ठूला उपकरण छन् ।

कारखानाका उपकरण ३ दशकदेखि बन्द रहेकाले तीनलाई पुनः सञ्चालन गर्न केही समय लाग्ने तर आफूहरूले चुनौतीलाई स्विकारेर उत्साहका साथ काम गरिरहेको कोजुले बताए । हाल केन्द्रका ४ मेकानिकल इन्जिनियर तथा भोलन्टियरसमेत गरी ११ जनाको टोली कार्यरत छ ।

भोलन्टियरमध्येका एक एम रोकायले हाल कारखानामा विद्युतको आपूर्ति नै कम रहेकाले एकै साथ सबै उपकरणको परीक्षणमा समस्या भएको बताए । रोकायले हाल केन्द्रको टोलीले दोस्रो चरणमा काम गरिरहेको बताए । पुराना उपकरणबाट कृषि औजारको सफल उत्पादन गरेपछि यो टोलीले तत्काललाई काम रोक्ने उनको भनाई छ ।

त्यसपछि सरकारले कारखाना सञ्चालनका लागि रकम निकासा गरेपछि उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालनका लागि ५० देखि ६० करोड रुपैयाँ निकासा गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म केन्द्रले एक रुपैयाँ पनि सरकारबाट नपाएको उनले गुनासो गरेका छन ।

अर्थ मन्त्रालयका तत्कालीन सहसचिव नवराज ढुंगानाको संयोजकत्वमा गठित समितिले तत्काल कारखाना संचालनको लागि २५ करोड रुपियाँ खर्च हुने अनुमन सहितको प्राविधिक प्रतिवेदन मन्त्रालयमा पेश गरेको छ । सरकारले दिने भनेको रकम समेत उपलब्ध नगराएकोले कारखाना संचालनमा ढिलाइ भएको आविश्कार केन्द्रले जनाएकोछ ।


सम्बन्धित समाचार