असार १, विराटनगर । पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा गम्भीर घाइते भएका तीन जना कामदारको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१२ घर भएका २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिए। गम्भीर घाइते उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको थियो।
गत असोज १० गते आएको बाढीले यसअघिको बेलिब्रिज बगाएको स्थानमा नयाँ बेलिब्रिज पुनः निर्माण भइरहेको थियो। शनिबार मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ लाई जोड्ने हेवाखोला बेलिब्रिज निर्माणको अन्तिम चरणमा हुँदा यो घटना भएको हो।

















