Logo

१३ साउन, वीरगञ्ज । आज साउन शुक्ल पञ्चमीका दिन देशभर नागको पूजा-आराधना गरी श्रद्धापूर्वक नागपञ्चमी पर्व मनाइँदैछ। वैदिक परम्पराअनुसार नागलाई प्रकृतिका रक्षक, जल स्रोतका देवता तथा विषका शोषक जीवका रूपमा पूजिने गरिन्छ। यो पर्व सृष्टिको सन्तुलन, सुरक्षा र समृद्धिका प्रतीकस्वरूप प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीहरूले हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

घरका मूलढोकामा गाईको गोबरले नागको चित्र टाँसी, गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागहरूको पूजा-आराधना गरिन्छ । यसरी पूजा गर्दा वर्षभर नाग, सर्प, बिच्छी लगायतका जीवजन्तुको त्रासबाट जोगिन सकिने, साथै अग्नि, मेघ र चट्याङको भय नहुने धार्मिक विश्वास रहिआएको छ ।

वैदिक मान्यता अनुसार नागहरूलाई सर्पहरूको राजा मानिन्छ। जल स्रोत र वर्षाका कारक तत्वका रूपमा पनि नागको पूजा गरिन्छ । बराहपुराण अनुसार आजकै दिन ब्रह्मा र नागराजबीच संवाद भएको मानिएपछि साउन शुक्ल पञ्चमी विशेष पुण्यदायिनी मानिन्छ ।

आजकै दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नामक आठ प्रमुख नागहरूको पूजा गरिन्छ । ती नागहरूको तस्बिर ब्राह्मण पुरोहितबाट विधिपूर्वक पूजा गरी घरको मूलढोकामा टाँसिन्छ ।

यस अवसरमा राजधानी काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी, तथा देशभरका नागदह, कुण्ड र नागस्थानहरूमा विशेष पूजा-आराधना हुँदैछ । विभिन्न धार्मिक स्थलहरूमा भक्तजनको घुइँचो लागेको छ ।

यस दिन खेतबारीमा खनजोत नगर्ने र सर्पलगायतका जीवजन्तुलाई नमार्ने परम्परा पनि छ, जुन जीवहरूप्रति सहअस्तित्व र सहिष्णुताको प्रतीक मानिन्छ ।

वैज्ञानिक दृष्टिकोणले पनि नाग र सर्पहरूले वातावरणमा रहेका विषालु तत्वको नियन्त्रणमा भूमिका खेलेको पुष्टि भएपछि ऋषिमुनिहरूले उनीहरूको सम्मानस्वरूप पूजाको परम्परा बसालिएको विश्वास गरिन्छ ।

नागपञ्चमीसँगै हिन्दू धर्मावलम्बीहरूका लागि चाडपर्वको याम सुरु भएको मानिन्छ। यसपछि जनैपूर्णिमा, गाईजात्रा, कृष्ण जन्माष्टमी, हरितालिका तीज, ऋषिपञ्चमी हुँदै दसैँ, तिहार र छठसम्मको चाडपर्वको सिलसिला अगाडि बढ्नेछ ।


सम्बन्धित समाचार