१३ साउन, काठमाडौं । विश्वमा हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गर्ने राष्ट्र भए पनि नेपाल जलवायु परिवर्तनको सबैभन्दा ठूलो चपेटामा परेको छ।
वैज्ञानिक अध्ययनहरूले देखाए अनुसार, नेपालको तापक्रम वार्षिक औसतमा ० दशमलव ०६ डिग्री सेल्सियसले बढिरहेको छ। झनै चिन्ताजनक पक्ष, हिमालहरू भने प्रत्येक वर्ष ० दशमलव ०८ डिग्री सेल्सियसको दरले तातिएका छन्। यो पृथ्वीको औसत तापक्रम वृद्धिदरभन्दा बढी हो, जसले नेपालमा जलवायु संकट कति गहिरिँदैछ भन्ने स्पष्ट पार्छ। हावापानी, तापक्रम र वर्षामा लामो समयदेखि भइरहेको परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। यसका असरहरू हामीले दैनिक जीवनमा महसुस गरिरहेका छौं । अत्यधिक गर्मी, जंगलमा बढ्दो आगलागी, वर्षामा आएको फेरबदल, अतिवृष्टि, खण्डवृष्टि र सुख्खा खडेरी यसकै परिणाम हुन् ।
अन्तर्राष्ट्रिय प्यानलका अध्ययनहरूले विगत शताब्दीमा पृथ्वीको तापक्रम ० दशमलव ६ डिग्री सेल्सियसले बढेको देखाएका छन्। यही रफ्तार कायम रहेमा निकट भविष्यमै तापक्रम वृद्धिदर १ दशमलव ४ डिग्री सेल्सियस र शताब्दीको अन्त्यसम्ममा ४ डिग्री सेल्सियस पुग्नेछ। डब्लूडब्लूएफले गरेको एक अध्ययनले पृथ्वीको तापक्रम ४ डिग्री सेल्सियसले वृद्धि भए नेपालका सबै ३,२५२ हिमनदी पग्लिने भयावह चेतावनी दिएको छ। यसको असर कल्पनाभन्दा बाहिरको हुनेछ।
थला पर्दै नेपाली कृषिः किसानको जीवनमाथि संकट
नेपालको ६५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छ र कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान कृषि क्षेत्रकै छ। तर, जलवायु परिवर्तनको प्रत्यक्ष मार कृषि क्षेत्रमा परिरहेको छ। नेपालको अधिकांश कृषियोग्य भूभाग (दुई तिहाइभन्दा बढी) आकाशे पानीमा निर्भर छ। यस वर्ष पानी नपर्दा सुख्खा खडेरीले विकराल समस्या उत्पन्न गरेको छ।

















