३ भदौ,काठमाडौं । सफल हरर–कमेडी फिल्म ‘स्त्री २’ पछि म्याडडक फिल्म्स प्रोडक्सनले आफ्नो दुनियाँको नयाँ फिल्म ‘थामा’ सार्वजनिक गर्ने भएको छ।
मंगलबार सार्वजनिक गरिएको १ मिनेट ४९ सेकेन्डको टिजरमा यो फिल्मलाई म्याडडक हरर–कमेडी युनिभर्सको पहिलो ‘ब्लडी लभ स्टोरी’ अर्थात् रक्तरञ्जित प्रेम कथा भनिएको छ।
फिल्ममा आयुष्मान खुराना र रश्मिका मन्दनाले मुख्य भूमिका निर्वाह गरेका छन्। टिजरमा उनीहरूको सम्बन्ध रहस्यमय, अनौठो र डरावना देखाइएको छ।
फिल्मको टिजर सार्वजनिक गर्दै म्याडडक फिल्म्सले लेखेको छ, “न डर कहिल्यै यति शक्तिशाली थियो, न त प्रेम कहिल्यै यति ब्लडी।”
टिजरको सबभन्दा ठूलो सरप्राइज भने नवाजुद्दीन सिद्दिकीको रहस्यमयी अवतार हो, जसले कथामा डरलाग्दो मोड ल्याउने आँकलन गरिएको छ। साथै फिल्ममा अनुभवी अभिनेता परेश रावलको समेत अभिनय रहनेछ।
आदित्य सरपोतदारको निर्देशनमा तयार भएको यो फिल्म दिनेश विजन र अमर कौशिकले निर्माण गरेका हुन्।
‘थामा’ सन् २०२५ को दीपावलीमा प्रदर्शनमा आउने तयारीमा छ।

















