१६ भदौ, काठमाडौं। नेपालका १० वटा ठूला वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण (असेट क्वालिटी रिभ्यु) को जिम्मा बंगलादेशको एक लेखापरीक्षण कम्पनीले पाएको छ ।
नेपाल राष्ट्र बैंकले बंगलादेशको हवलदार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स सँग यो कामको लागि ठेक्का सम्झौता गरेको छ। यो ठेक्काको कुल रकम ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६७० अमेरिकी डलर रहेको छ । सम्झौताअनुसार कम्पनीले आगामी पाँच महिनाभित्र लेखापरीक्षण पूरा गरी प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ ।
IMF सर्त र राष्ट्र बैंकको चुनौती
यो लेखापरीक्षण खासगरी अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सर्त पूरा गर्नका लागि गरिएको हो। IMF ले नेपाललाई विस्तारित कर्जा (Extended Credit Facility) दिनुअघि नेपालका ठूला बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट अडिट गराउनुपर्ने सर्त राखेको थियो। यो सर्त पूरा भएपछि मात्र IMF ले नेपाललाई सहयोग गर्ने बताएको थियो।
यद्यपि, नेपाल राष्ट्र बैंकलाई यो ठेक्का दिन सहज थिएन। यसअघि दुई पटकको प्रयास विफल भएको थियो। सुरुमा भारतीय कम्पनीसँग ठेक्का सम्झौता भए पनि त्यो रद्द भएको थियो। त्यसपछि बंगलादेशकै अर्को कम्पनीसँग भएको सम्झौता पनि रद्द भएको थियो। तेस्रो पटकको प्रयासमा भने यो सम्झौता सफलतापूर्वक सम्पन्न भएको छ।















