१७ भदौ,काठमाडौं । गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिकामा मंगलबार बिहान भएको रात्रिबस दुर्घटनामा परी २१ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट आरुघाट जाँदै गरेको बा ०१–००६ ख ४१३१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई भीमसेनथापा गाउँपालिका–३ को टारीफाँटमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार, बसमा कुल २२ जना यात्रु सवार थिए। तीमध्ये २१ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ।
अन्य १९ जना घाइतेको आरुघाटस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।















