१७ भदौ,वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगरले सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र, मुर्ली श्रीपुर–११ को सहकार्यमा डेंगु र हैजाको रोकथामका लागि विशेष कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रम अन्तर्गत करिब ३०० थान झुल (मच्छरदानी) र ६०० थान जीवनजल वितरण गरिएको छ।
पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रममा बोल्दै एसपी मिश्रले डेंगु र हैजाजस्ता महामारी नियन्त्रण गर्न यस्ता सामाजिक पहलहरू निकै महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले जनस्वास्थ्यको सुरक्षाका लागि सामुदायिक सहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो।
कार्यक्रम लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर, डिष्टिक ३२५ का अध्यक्ष सुरेश रुङ्गटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष किशोर गुप्ता, सेक्रेटरी मनिष गोयल, डिस्टिक एजुकेटिभ चिफ प्रकाश बाहेती, प्रदीप डालमिया, विनय बन्सल, राजन सरावगी, रामबिहारी पाण्डे लगायतका पदाधिकारीहरूको उपस्थिति थियो।
यसका साथै, वडा नं. ११ का वडा अध्यक्ष अजय चौरसिया, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्यामकुमार बस्नेत, सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष रेखा घिमिरे, न्युरो अस्पतालका डा. श्याम बाबु प्रसाद, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका अध्यक्ष राम सराफ लगायत विभिन्न सरोकारवालाहरू र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको पनि कार्यक्रममा सहभागिता थियो।
कार्यक्रमका वक्ताहरूले डेंगु र हैजाबाट बच्नका लागि व्यक्तिगत सरसफाइ, सफा खानेपानीको प्रयोग र लामखुट्टे नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले लायन्स क्लबजस्ता सामाजिक संस्थाहरूलाई यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न आग्रहसमेत गरेका छन्।















