१७ भदौ, काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बीपी राजमार्गमा यातायात अवरुद्ध हुन नदिन सडक मर्मतको कामलाई तीव्रता दिइएको छ ।
गत वर्षको बाढी–पहिरोले क्षतिग्रस्त बनाएको यो महत्त्वपूर्ण राजमार्गलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । अब भने आगामी चाडपर्वमा यात्रुलाई सहजता प्रदान गर्न दुई हप्ताभित्र थप मर्मत कार्य सम्पन्न गरिने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ ।
मनसुनमा अवरुद्ध हुन दिइएन, अब चाडपर्वको तयारी
भक्तपुर डिभिजन सडक कार्यालयका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले यस वर्षको मनसुनमा पनि राजमार्गलाई पूर्ण रूपमा अवरुद्ध हुन नदिएको जानकारी दिए। बाढीले क्षति पुर्याउन सक्ने काभ्रेपलाञ्चोकको चौकीडाँडा, कटुञ्जेबेँसी, मंगलटार र माम्ती जस्ता जोखिमपूर्ण क्षेत्रमा ग्याबियन जालीको पर्खाल लगाइएको थियो। साथै, सडक अवरुद्ध भइहाले तत्काल हटाउनका लागि ठूला बोल्डर र उपकरणहरू तयारी अवस्थामा राखिएको थियो।
यसैगरी, ठेक्का लागिसकेका सडकखण्डमा निर्माण व्यवसायीका १५–१५ वटा उपकरण र डिभिजन कार्यालयका सातवटा उपकरण समेत तयारी अवस्थामा राखिएकाले कुनै पनि अवरोधलाई तुरुन्तै हटाउन सकिने योगेशले बताए। चाडवाडलाई ध्यानमा राख्दै सडकका खाल्डाखुल्डी पुर्ने र सुधार गर्ने योजना रहेको पनि उनले जनाए।
पुनर्निर्माणको दीर्घकालीन योजना
गत वर्षको बाढीपहिरोले बीपी राजमार्गको २९ किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो, जसमध्ये ८ किलोमिटर त पूरै बगाएको थियो। अहिले सो सडकलाई स्थायी रूपमा पुनर्निर्माण गर्नका लागि प्रक्रिया अघि बढेको छ। कुल चार खण्ड मा विभाजन गरी काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
स्थायी निर्माणको काम भने मनसुन सकिएपछि सुरु हुनेछ। जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका०ले पाँच किलोमिटर सडकखण्डको पुनर्निर्माण गर्नेछ, जसका लागि सर्भेको काम सकिएको छ।
रातको समयमा सवारी साधनमा रोक
सडकको जोखिमलाई मध्यनजर गर्दै भदौ १६ गतेदेखि थप १५ दिनका लागि रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार, साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारी साधनलाई काभ्रेभञ्ज्याङबाट सिन्धुलीको नेपालथोकसम्म सञ्चालनमा रोक लगाइएको छ। चाडपर्वमा सामान्य समयभन्दा तीन गुणा बढी सवारी साधन ओहोरदोहोर गर्ने यस राजमार्गमा यात्रु सुरक्षालाई प्राथमिकतामा राखिएको छ।















