Logo

२४ फागुन, वीरगञ्ज । सद्भाव र आत्मियता साटासाट गर्दै मनाईने रङैरंङको पर्व फागु अर्थात होली आज विशेष रुपमा मनाईदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलीपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तर तिथिको घटबढका कारण यसपाली तराईमा होली आज मनाईदै छ ।

तराईका जिल्लामा रंग अबिर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । आज मनाईने होलीका कारण वीरगन्जका बजार सुनसान देखिएका छन् । बजारमा रंग अविर लगाएर होली खेल्नेहरु बाहेक सडकमा छिटपुट रुपमा मात्रै सवारी साधनहरु पनि चलेका छन् । बजारमा थोरै मात्र पसलहरु खुलेका छन् ।

मासु पसलहरुमा भने बिहान ४ बजेदेखि नै भीड देखिएको छ । होलीमा खसी र कुखुराको मासु बढी खपत हुने हुँदा आज बिहानैदेखि मासु लिने ग्राहकहरुको मासुु पसलहरुमा घुँईचो देखिएको हो ।

मासुसँगै पेय पदार्थ र मदिराको पनि अत्यधिक खपत हुने पर्व होली हो । होलीमा धेरैले मदिरा पिउने उपभोक्ताहरुको संख्या बढी हुने र मदिरा नपिउनेहरुले पनि चिसो पेय पदार्थहरु पिउने हुँदा पेय पदार्थ र मदिराको पनि बिक्री राम्रो हुने गरेको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ ।

होली पर्वसँग त्रेतायुगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर प्रल्हादलाई केही नभएको कथा जोडिन्छ । शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको खुशीयालीमा फागु खेल्ने परम्परा सुरु भएको मानिन्छ ।

 


सम्बन्धित समाचार