Logo

३१ भदौ,वीरगञ्ज । भदौ २३ र २४ गते भएको आन्दोलन पछि धेरै थरिका बहशहरु भईरहेका छन । भदौ २४ गते भएको आगजनी र त्यस पछिको केही दिनको बन्दी पछि शहरमा गाडीहरु चलन थालेका छन ।

सरकारी कार्यालय तथा स्कुल र कलेजहरु खुलेका छन । जनजिवन समान्य बन्ने प्रयासमा छन । हेर्दा कम समयको आन्दोलन तर धेरै अर्थमा रेकर्ड कायम गरेको छ । जलेका संरचनाहरु भित्रको खरानी टकटयाएर कार्यालय संचालन गर्ने प्रयास गरिदैछ । आफनो घर जलेका नेताहरु घर फर्किन सकिरहेका छैन ।

निर्वाचनको घोषणा भएसंगै नयाँ पुस्तालाई नेतृत्व हस्तानान्तरण गर्ने उकुसमुकुस पनि त्यतिकै छ । अवसर नपाएका नयाँ पुस्ताहरु आफनो नेतृत्वलाई भन्न सकिरहेका छैनन की म नेतृत्वको लागि तयार छु तर उनीहरुको मनमा पनि कहिना कहि उकुसमुकुस छ ।

नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक इतिहासमा पुस्तान्तरणको प्रश्न हरेक पुस्ताले उठाउँदै आएको छ । अहिले पनि यही प्रश्न फेरि बहसको केन्द्रीय मुद्दा बनेको छ—सत्ता र नेतृत्वमा नयाँ पुस्तालाई स्थान दिने कि पुरानै पुस्ताको अनुभवलाई निरन्तरता दिने ।

यो केवल नेपालकै विषय होइन, विश्वकै राजनीतिक परिदृश्यमा नयाँ पुस्ता र पुरानो पुस्ताबीचको संघर्ष, सहकार्य र हस्तान्तरण सधैं देखिन्छ । तर नेपालको राजनीतिक संक्रमणकालीन अवस्थाले यसलाई अझ गहिरो बनाएको छ । नेपाली राजनितिक दल र तिनका नेतृत्वसंग कति गुनासा र प्रश्न छ यो २३ र २४ गतेको आन्दोलनले देखाई सकेको छ । नेतृत्वसमा रहदाँ आसेपासे भन्दा आम जनताको कुरा नसुन्ने विलासी जिवन विताउने, छोराछोरी र परिवारले साख देखाउने प्रति आम जनताको अक्रोस बाहिर आएको छ यसलाई मन्न गर्ने पर्छ ।

नेपालको जनसंख्या संरचना हेर्ने हो भने युवाहरूको संख्या अत्यधिक छ । १६ देखि ४० वर्षको बीचमा पर्ने जनसंख्या देशको करिब ५७ प्रतिशतभन्दा बढी छ । यति ठूलो संख्यामा रहेका युवाहरू अब केवल दर्शक वा कार्यकर्ताको भूमिकामा सीमित रहन चाहँदैनन्।

उनीहरूलाई निर्णय गर्ने तहमा प्रवेश गर्न मन छ, जसलाई स्वाभाविक आकांक्षा पनि भन्न सकिन्छ । युवाहरूले देखेको संसार फरक छ—सामाजिक सञ्जाल, प्रविधि, विश्वव्यापीकरण र नयाँ विचारहरूको प्रभावमा उनीहरूको सोच र दृष्टिकोण फरक छ । उनीहरू पारदर्शिता, जवाफदेहिता र छिटो परिणाम खोज्छन् । पुरानो पुस्ताको लामो अनुभवलाई उनीहरूले सम्मान गरे पनि ढिलो निर्णय, जटिल प्रक्रियामा अल्झिने प्रवृत्ति र व्यक्तिगत स्वार्थका कारण निराशा पनि भएका छन् । निराशाका विचबाट जुन अहिलेको परिणाम आएको छ यसलाई नेताहरुले अवसरमा बदलन सक्नु पर्छ । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर नयाँ नेपालको कल्पना गर्न सक्नु पर्छ ।

नेताको जिवन सादा हुनुपर्छ यस तर्फ ध्यान दिने की ?
नेपालको लोकतान्त्रिक यात्रामा पुरानो पुस्ताले खेलेको भूमिका असाधारण छ । राणा शासनविरुद्धको आन्दोलनदेखि २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, २०६२र६३ को जनआन्दोलन, गणतन्त्रको स्थापना, संघीयता र नयाँ संविधान लेखनसम्म, यी सबै यात्रामा पुरानो पुस्ताले दिएको नेतृत्वको महत्व कम गर्न सकिँदैन । अनुभव, परिपक्वता र रणनीतिक सोच बिना नेपालको जटिल संक्रमण सम्भव थिएन। अझै पनि संविधान कार्यान्वयन, संघीय संरचना सबल पार्ने, सामाजिक विभाजन कम गर्ने र विदेशी कूटनीतिक दबाब व्यवस्थापन गर्ने सवालमा पुराना पुस्ताको योगदान जरुरी छ ।

तर समस्या के हो भने पुरानो पुस्ताले नेतृत्व हस्तान्तरण गर्ने तयारी देखाएको छैन। राजनीतिक दलहरूको आन्तरिक संरचना हेर्ने हो भने त्यहाँ नेतृत्व स्थायी बनेको छ। दलका अध्यक्ष, पार्टी कमिटीका शीर्ष पदाधिकारीहरू दशकौंसम्म एउटै अनुहार भइरहेका छन् । यसले नयाँ पुस्तालाई निराश बनाएको छ ।

अर्को पाटोमा, नयाँ पुस्ता पनि संगठित भएर वैकल्पिक नेतृत्व निर्माण गर्न सक्षम भएको देखिँदैन । कहिलेकाहीँ उनीहरू असंगठित विरोध वा आन्दोलनमा मात्र सीमित हुन्छन्, तर दीर्घकालीन रणनीति बनाउन चुकेका हुन्छन्। यसले पुराना नेताहरूलाई अहिले पनि हामी बिना देश चल्दैनू भन्ने सोच पलाएको छ ।

लोकतन्त्रलाई बलियो बनाउन पुस्तान्तरण अपरिहार्य हुन्छ । एउटै पुस्ताले लामो समयसम्म सत्ता समातेपछि विचार, शैली र दृष्टिकोण स्थिर हुन्छ । यसले समाजलाई नयाँ चुनौती सामना गर्ने क्षमता कमजोर पार्छ। उदाहरणका लागि, जलवायु परिवर्तन, डिजिटल अधिकार, प्रविधि, लैंगिक समानता, रोजगारीको संकट—यी सबै विषय नयाँ पुस्ताले अझ नजिकबाट बुझेका छन् । अनेकौं मुलुकमा पुस्तान्तरणका सकारात्मक उदाहरण छन्।

क्यानाडाका जस्टिन ट्रुडो, फ्रान्सका इमानुएल म्याक्रोन वा फिनल्याण्डकी साना मारिन जस्ता नेताहरू युवावस्थामै सत्ता नेतृत्वमा पुगेका थिए । उनीहरूले नयाँ सोच र नयाँ शैलीको राजनीति देखाए। नेपालमा पनि त्यस्तै अभ्यास सम्भव छ, तर त्यसका लागि संस्थागत संरचनामा सुधार गर्न जरुरी छ ।

निष्कर्ष
नेतृत्व हस्तान्तरण केवल कसलाई कुर्सी दिने भन्ने सवाल होइन, यो लोकतन्त्रको जीवनशक्ति जोगाउने सवाल हो । नयाँ पुस्तामा ऊर्जा, प्रविधि र नवीन सोच छ भने पुराना पुस्तामा अनुभव, संयम र रणनीति छ । यी दुवैलाई संयोजन गर्ने हो भने मात्र देशलाई दिगो विकास र स्थिरताको बाटोमा लैजान सकिन्छ ।

अब समय आएको छ—पुराना पुस्ताले नयाँ पुस्तालाई सहयोगीू मात्र होइन, नेताू को रूपमा स्वीकार गर्ने । युवाले पनि भावुक नाराभन्दा पर उठेर जिम्मेवारी लिन सक्ने क्षमता देखाउनुपर्छ । नेतृत्व हस्तान्तरणको बहसलाई अब व्यवहारमा उतार्न सके मात्र लोकतन्त्रप्रतिको विश्वास कायम रहनेछ ।

भ्रष्टाचार र नेताहरुको सन्तानको जीवनशैली माथी प्रश्न गर्दै शुरु भएको आक्रोस अझै रोकिएको छैन । पुराना पुस्ताबाट नयाँ पुस्तामा तेतृत्व हस्तानान्तरण गरी पार्टीलाई र देशलाई हुने क्षति जोगाउन सकिन्छ । नयाँपुस्तालाई नेतृत्व दिने र आफु बाहिरबाट सहयोग गर्नुको विकल्प नेतृत्वसंग छैन ।


सम्बन्धित समाचार