१४ पौष, वीरगञ्ज । वीरगञ्जको पत्रकारिता अहिले गलत अभ्यासको भूमरीमा फसेको छ । अनलाइन, पत्रिका र सामाजिक सञ्जालमा बढी भ्युज र क्लिक पाउने होडमा समाचार सम्प्रेषणलाई अतिरञ्जित बनाउने, तर संवेदनशील विषयलाई ध्यान नदिने प्रवृत्ति बढ्दै गएको छ ।
धार्मिक द्वन्द र जातीय गुटगत विवादका विषयमा संवेदनशील समाचार सम्पेषणले समुदायमा असामाजिक र हिंसात्मक प्रतिक्रिया उब्जाउन सक्ने उच्च खतरा छ । १५/२० वर्षको पत्रकारिता अनुभव भएका अग्रज सञ्चारकर्मीहरूमध्येका कतिपयले समेत अनलाइनमाध्यममार्फत् यस्ता समाचार प्रकाशित गरेको तथ्यले चिन्ता थपेको छ ।
पत्रकार आचारसंहितामा स्पष्ट उल्लेख छ, “पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन ।” तर, पत्रकार आचारसंहिता घोषणा भएको भूमि वीरगञ्जमा नै यसविपरित अभ्यास देखिनु गम्भीर विषय भएको सञ्चार क्षेत्रका विश्लेषकहरूले बताएका छन् ।

जेनजी आन्दोलनताका तोडफोड र आगजनीमा संलग्न एक युवालाई पुस ३ गते प्रहरीले पक्राउ गर्दा कतिपय अनलाईन पत्रिकाले जातीय र धार्मिक पृष्ठभूमिसँग जोडेर समाचार सम्पषण गरेका थिए । सञ्चार क्षेत्रमा अग्रज र मानेजानेका व्यक्तिहरूका अनुसार यस किसिमको समाचार न केवल कानूनी रूपमा गलत छ, समाजमा तनाव बढाउने र जनमानसमा भ्रम सिर्जना गर्ने खतरा पनि राख्छ ।
विगत दुई सातादेखि बंगलादेशमा विकसित राजनीतिक/सामाजिक घटनाको प्रभाव वीरगञ्जमा समेत देखिन थालेको छ । शहरमा दिनहुँजसो विभिन्न धार्मिक समूह र संघसंगठनका नाममा विज्ञप्ति जारी हुने र प्रदर्शन आयोजना हुने क्रम बढेको छ ।
बंगलादेशको पछिल्लो घटनाक्रमप्रति चासो र चिन्ता व्यक्त गर्दै यहाँका केही समूहले समर्थन तथा विरोधका कार्यक्रम गर्दै आएका छन् । ती कार्यक्रमहरूमा धर्मसँग सम्बन्धित नारा, ब्यानर र वक्तव्य प्रयोग हुने गरेकाले सामाजिक सद्भाव र सहिष्णुतामा असर पर्न सक्ने भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् ।
यही विषयलाई लिएर अनलाइन सञ्चारमाध्यम र समाजिक प्लेटफर्म लगायतमा पनि धर्मको नाम जोडेर समाचार प्रकाशित हुने क्रम बढ्दो छ । विश्लेषकहरूका अनुसार यस्ता समाचारले जनताको सूचनाको अधिकार पूरा गर्ने उद्देश्य राखे पनि संवेदनशील विषय भएकाले प्रस्तुतीकरणमा थप जिम्मेवारी आवश्यक छ ।

प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगरले भने,“आजकल फेसबुक मोनेटाइजेशन र डलर कमाउने होडले अनलाइन पत्रकारितालाई मात्र नभएर समाजमा जिम्मेवारीपूर्ण समाचार वितरणमा पनि असर पु¥याइरहेको छ । पत्रकारिता केवल खबर छाप्ने वा भ्युज पाउने माध्यम होइन । यसले समाजलाई सचेत, सूचित र जिम्मेवार बनाउने भूमिका खेल्नु पर्छ । तर, वीरगञ्जमा देखिएको प्रवृत्ति भने फरक छ । संवेदनशील विषयमा अतिरञ्जित र गुटगत भावनालाई खेलाउने प्रवृत्ति बढ्दो छ ।”
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले भने, “अनलाइन प्लेटफर्मको पहुँचले समाचार छिटो फैलिन्छ, तर जब जिम्मेवारी बिर्सिएर समाचार सम्प्रेषण हुन्छ, तब समाजमा द्वन्द र असहमति सिर्जना हुन सक्छ । पत्रकारले केवल ताजा समाचार दिनेमात्र होइन, त्यसको प्रभाव र सामाजिक उत्तरदायित्व प्रति पनि विचार गर्नुपर्छ ।”
नेपालको संविधानले संघसंगठन खोल्न पूर्णस्वतन्त्रता दिएको छ । यही संवैधानिक अधिकारका आधारमा पत्रकारकै नाममा जातीय र धार्मिक पहिचान जोडिएका विभिन्न संघसंगठन गठन भएका छन् । ती संघसंगठनले आफ्ना हकहित, अधिकार र विकासका विषयमा ज्ञापनपत्र बुझाउने र राज्यसँग माग राख्नेजस्ता गतिविधि गर्नु स्वाभाविक हो । तर, ती संगठनमा आबद्ध पत्रकारले पनि पत्रकारिताको मूल मर्म र आचारसंहिताभित्र रहेर कलम चलाउनुपर्ने दायित्वबाट पन्छिन मिल्दैन ।
पत्रकार आचारसंहिताले जातीय, धार्मिक वा सामुदायिक पहिचानका आधारमा समाजमा विभाजन, घृणा वा द्वन्द्व फैलिने सामग्री प्रकाशन/प्रसारण गर्न निषेध गरेको छ । तर, वीरगञ्जमा पछिल्लो समय कुनै धर्म वा समुदायसँग सम्बन्धित संघसंगठनले विज्ञप्ति जारी गरेकै आधारमा त्यसको सामाजिक प्रभाव के पर्छ भन्ने गहिरो विश्लेषण नगरी समाचार बनाउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यसले पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ ।
‘अनुगमन’को नाममा विद्यालयजस्ता संवेदनशील क्षेत्रमा पत्रकारको सीधा प्रवेश, कक्षा कोठामै पुगेर विद्यार्थीको सिकाइ परीक्षण गरिने दृश्य सामाजिक सञ्जालमा राखेर भ्युज र चर्चा कमाउने अभ्यास पनि बढ्दो छ । यस्ता सामग्री ‘कुनै न्यूज च्यानल’को नाम रहेको समाजिक सञ्जालको पेज र प्रोफाईबाट प्रसारण गरिँदा कतिपयले आफूलाई ठूलो र अनुभवी पत्रकार ठान्न थालेको देखिन्छ । तर अग्रज पत्रकारहरू भन्छन् – “यो पत्रकारिता होइन, यो त केवल दृश्य बेच्ने प्रवृत्ति हो ।”
विश्वभर पत्रकारितालाई राष्ट्रको ‘चौथो अंग’ मानिन्छ । त्यसैले यो क्षेत्र अत्यन्तै संवेदनशील र जिम्मेवार मानिन्छ । प्रविधिको विकाससँगै समाचार संकलन र प्रसारण सहज भए पनि अनुभव, दक्षता र सम्पादनको अभाव वीरगञ्जको पत्रकारितामा स्पष्ट देखिन थालेको छ । भिडियो पत्रकारितामा दृश्य महत्वपूर्ण भए पनि सम्पादन, सन्तुलन र तथ्य परीक्षणबिनै सामग्री प्रसारण गर्दा एकपक्षीय र भ्रामक सन्देश जाने खतरा बढेको छ ।
चिया गफका क्रममा भेलाभएका पत्रकारहरूको अनौपचारिक छलफलमै वीरगञ्जको पत्रकारिताको वास्तविक तस्वीर झल्किने एउटा गम्भीर प्रश्न उठ्यो – “तपाईंको भिडियोमा किन एकपक्षीय कुरा मात्रै देखिन्छ ?”
चिया गफका क्रममा भेलाभएका पत्रकारहरूको अनौपचारिक छलफलमै वीरगञ्जको पत्रकारिताको वास्तविक तस्वीर झल्किने एउटा गम्भीर प्रश्न उठ्यो – “तपाईंको भिडियोमा किन एकपक्षीय कुरा मात्रै देखिन्छ ?”
यस प्रश्नको जवाफ झन् चिन्ताजनक आयो -“अर्को पक्षका कुरा पार्ट-२ (दुई) मा देखाइन्छ ।” यही उत्तरलाई यहाँको पत्रकारिताको वर्तमान अवस्था झल्काउने उदाहरणका रूपमा हेरिएको छ ।
अग्रज सञ्चारकर्मीहरूका अनुसार भिडियो पत्रकारितामा दृश्य र प्रस्तुति महत्वपूर्ण भए पनि त्यसको मूल आत्मा भने सन्तुलन, तथ्य र सबै पक्षको समेटाइ हो । तर, वीरगञ्जमा पछिल्लो समय भिडियोमै केन्द्रित पत्रकारिता गर्दा यी आधारभूत मूल्यहरू ओझेलमा पर्न थालेको अनुभूति उनीहरूको छ । “एकै भिडियोमै सबै पक्ष समेट्नुपर्ने ठाउँमा भ्युज र एल्गोरिदमको दबाबमा समाचारलाई टुक्र्याएर प्रस्तुत गर्नु पत्रकारिताको कमजोरी हो,” सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)का वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले भने ।
उनका अनुसार भिडियो पत्रकारितामा ध्यान दिनुपर्ने फ्रेम, सम्पादन, सन्दर्भ र सन्तुलनजस्ता सीपमा पर्याप्त दक्षता नदेखिनु चिन्ताको विषय बनेको छ । “समाचार अधुरो राखेर अर्को भागको प्रतीक्षा गराउने प्रवृत्तिले दर्शक त तान्ला, तर पत्रकारिताको विश्वसनीयता कमजोर बनाउँछ,” देवकोटाले थपे ।
चिया गफमा उठेको यो प्रसंग केवल व्यक्तिगत टिप्पणी नभई वीरगञ्जको समग्र पत्रकारितामाथिको आत्ममूल्यांकनका रूपमा लिनुपर्ने आवाजसमेत उठेको छ । पत्रकारिताले सूचना मात्र होइन, सन्तुलित सत्य दिनुपर्ने भएकाले ‘पार्ट-२’ को बहानामा एकपक्षीय सामग्री प्रस्तुत गर्नु व्यावसायिक आचारसंहिताविपरीत हुने अग्रजहरूको ठहर छ ।
जे देख्यो त्यही देखायो, जे देख्यो त्यही लेख्यो, जनताले जे मागे त्यही दियो, ‘जे बिक्छ त्यही नदिने हो भने पत्रकारिता कसरी चल्छ ?’ जस्ता तर्क अहिले वीरगञ्जको पत्रकारितामा सुन्न थालिएको छ । तर अग्रजहरूको चेतावनी छ, यस्तो सोचले अल्पकालीन भ्युज त दिन सक्छ, दीर्घकालीन रूपमा पत्रकारिताको मूल्यमान्याता नै समाप्त पार्छ ।
समाजलाई सूचना दिने, सत्य उजागर गर्ने र जिम्मेवार बहस सिर्जना गर्ने पत्रकारिताले यदि केवल भ्युज र मोनिटाइजेसनको दौडलाई प्राथमिकता दिन थाल्यो भने त्यसको मूल्य समाजले चुकाउनुपर्ने हुन्छ । त्यसैले वीरगञ्जको पत्रकारिताले आत्ममूल्यांकन गर्दै आचारसंहिता, व्यावसायिकता र सामाजिक उत्तरदायित्वलाई पुनः केन्द्रमा राख्नुपर्ने आवश्यकता देखिएको छ ।
अग्रज पत्रकारहरू र विश्लेषकहरूका अनुसार वीरगञ्जको पत्रकारिताले आचारसंहिताको पालन नगर्ने र संवेदनशील विषयलाई ध्यान नदिने प्रवृत्ति जारी रह्यो भने, यसले सामाजिक एकता र सहिष्णुतामा नकारात्मक प्रभाव पार्ने खतरा उच्च छ ।
समाधानका लागि सञ्चारकर्मीहरू, संघसंस्था र स्थानीय प्रशासनबीच मिलेर पत्रकारिता अभ्यास सुधार, प्रशिक्षण र आत्मनिरीक्षण कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको विश्लेषकहरूको सुझाव छ ।















