Logo

१९ चैत, वीरगञ्ज । सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण विद्यालय तहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै गएको छ ।

कोभिड–१९ को महामारीको समयमा इन्टरनेटको प्रयोगबाट पठनपाठन सञ्चालन गर्ने गरिएको र त्यसयता सामाजिक सञ्जालको प्रयोगमा बानी बस्दै गएकाले त्यसको नकारात्मक असर बालबालिकाहरुमा देखिन थालेको विज्ञले बताएका हुन् । संचारकर्मीसँग कुरा गर्दै शिक्षाविद् डाक्टर राजकुमार ढुंगानाले कोभिड१९ पछि बालबालिकामा मोबाइल प्रयोगको लत बढेका कारण उनीहरुमा मनोसामाजिक समस्या देखिएको बताउनुभयो ।

सामाजिक सञ्जालमा आउने सकारात्मक र नकारात्मक कुराहरुको चयन गर्न नसक्नु तथा शिक्षाप्रति अभिभावक तथा विद्यालयको दवाव बढ्नु लगायतले पनि बालबालिकाहरु अनावश्यक दवावमा पर्ने गरेको टिप्पणी उहाँले गर्नुभयो । विद्यालयतहका बालबालिकामा अध्ययनको रुची घट्दै जानुले समग्र शिक्षा क्षेत्रमा डरलाग्दो खतराको संकेत गरेको उहाँले बताउनुभयो ।

कोभिडपछि प्रविधिलाई उपयुक्त तरिकाले प्रयोग गर्ने सीपको कमीले समेत बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेकाले त्यसको बारेमा सबै सरोकारवाला गम्भिर हुनुपर्ने उहाँले बताउनुभयो । शिक्षाविद् ढुंगेलले विद्यालय स्तरबाटै बालबालिकाकालाई मनोसामाजिक परामर्श सेवा दिनुपर्नेमा जोड दिनुभयो । अभिभावकहरुले विद्यार्थीलाई उच्चतम अंक ल्याउन दवाव दिनु सामाजिक अपराध भएको उल्लेख गर्दै उहाँले त्यस्तो काम रोकिनुपर्ने बताउनुभयो ।

विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले पनि कोभिड–१९ महामारीपछि विद्यार्थीमा इन्टरनेट प्रयोगको लत बसेको बताउनुभयो । विद्यार्थीहरुमा एकोहोरो हुने, आक्रमक बन्ने, धेरै मोबाइल चलाउँदा आँखा रातो हुने र दुब्लो हुने तथा मानसिक स्वास्थ्यमा समेत समस्या देखिएपछि मनोसामाजिक परामर्श दिने गरिएको बताउनुभयो ।

चिकित्सकहरुले पनि इन्टरनेट प्रयोगका कारण बालबालिकाहरुमा अनिद्राको समस्या डरलाग्दो रुपमा देखिएको बताएका छन् । अल्का अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डा। प्रदीप पाण्डे सामाजिक सञ्जालमा हुने नकारात्मक कुराहरुका कारण बालबालिकाको रचनात्मक क्षमता घट्नुको साथै मनोसामाजिक समस्या देखा पर्न थालेको बताउनुभयो ।

मनोरोगको समस्यालाई बेलैमा पहिचान गरी निदानको उपाय अपनाउनु पर्नेमा डा। पाण्डेले जोड दिनुभयो ।


सम्बन्धित समाचार