Logo

१५ माघ, बारा।  बाराको परवानीपुर गाउँपालिकामा विवाहेतर सम्बन्धका कारण एकै परिवारका दुई सदस्यको निर्मम हत्या भएको घटनामा संलग्न आरोपमा प्रहरीले मृतककी बुहारी र उनका प्रेमी भनिएका व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार बिहान परवानीपुर गाउँपालिका वडा नं. १ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको घरमा अज्ञात व्यक्तिहरू प्रवेश गरी सुतेका परिवारमाथि धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणबाट जगरुपका ३१ वर्षीय छोरा राम ईश्वर मण्डल र ४६ वर्षीया सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा घरमुली जगरुप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको वीरगञ्जस्थित एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए।

एसपी कुँवरको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले विवाहेतर सम्बन्धबाट उत्पन्न पारिवारिक विवाद नै घटनाको मुख्य कारण भएको निष्कर्ष निकालेको छ। सोही आधारमा प्रहरीले मृतक राम ईश्वर मण्डलकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल र उनका प्रेमी भनिएका प्रसौनी गाउँपालिका–७ बन्जरिया टोल निवासी २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानअनुसार धर्मेन्द्र महतो धानुक वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका थिए। उनी गत माघ ११ गते नेपाल फर्किएपछि परिवारसँग सम्पर्कमा नआई मनिता देवीसँग मिलेर हत्याको योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित समाचार
भर्खरै