Logo

२२ माघ, वीरगञ्ज । यतिबेला देश चुनावी माहोलले तातेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लिएर देशभर उम्मेदवारहरू प्रचार–प्रसार, रणनीतिक समीकरण र शक्ति सन्तुलनको गणनामा व्यस्त छन्। यसपटकको निर्वाचनमा दुई निर्वाचन क्षेत्र विशेष चर्चाको केन्द्रमा छन्— झापा क्षेत्र नम्बर ५ र सर्लाही क्षेत्र नम्बर ४।

झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मैदानमा उत्रिएका बालेन्द्र शाह (बालेन) र नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार रञ्जित तामाङबीचको प्रतिस्पर्धाले राष्ट्रिय बहस तातेको छ भने सर्लाही–४ मा नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा, जनमत पार्टीका राकेश मिश्र र रास्वपाका डा. अमरेशकुमार सिंहबीचको भिडन्तले मधेसको राजनीतिक भविष्यसँगै केन्द्रीय राजनीतिलाई पनि प्रभावित गर्ने देखिएको छ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ केवल एउटा भौगोलिक क्षेत्र मात्र होइन, यो मधेस राजनीतिका लागि एउटा प्रयोगशाला जस्तै हो, जहाँ हरेक निर्वाचनले नयाँ राजनीतिक भाष्य निर्माण गर्दै आएको छ। आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्र पुनः एकपटक देशकै ध्यान खिच्ने केन्द्र बनेको छ।

यसपटकको प्रतिस्पर्धा विगतको भन्दा फरक र बहुआयामिक देखिन्छ। एकातिर नेपाली कांग्रेसका सभापति गगन थापाको मधेस आगमनले चुनावी तापक्रम बढाएको छ भने अर्कोतिर निवर्तमान सांसद अमरेशकुमार सिंह र स्थानीय स्तरमा बलियो पकड बनाएका शिवपूजन यादवको विरासत बोकेर नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका अमनिशकुमार यादवले प्रतिस्पर्धालाई त्रिकोणात्मक बनाएका छन्। तर यो चुनावी चित्र यतिमै सीमित छैन। यहाँ जनता समाजवादी पार्टी (जसपा), नेपाली कम्युनिस्ट पार्टी र जनमत पार्टीजस्ता शक्तिहरूको भूमिकाले नतिजालाई निर्णायक बनाउने निश्चित छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौँ–४ जस्तो सुरक्षित क्षेत्र छोडेर सर्लाही–४ रोज्नु धेरैले राजनीतिक ‘जुवा’ का रूपमा व्याख्या गरेका छन्। तर कांग्रेसको आन्तरिक तथ्याङ्कले फरक संकेत गर्छ। २०७९ को स्थानीय तह निर्वाचनमा यस क्षेत्रका ५१ वडामध्ये कांग्रेसले १९ वडा जित्दै करिब १८ हजारभन्दा बढी ‘कोर भोट’ सुरक्षित गरेको थियो। गगन थापाको आगमनले सुस्ताएको कांग्रेस संगठनमा नयाँ ऊर्जा थपिएको छ भने ‘भावी प्रधानमन्त्री’ को एजेन्डाले युवा र तटस्थ मतदातालाई आकर्षित गर्ने सम्भावना पनि बलियो देखिन्छ।

सर्लाही–४ मधेसको राजनीतिक रूपमा अत्यन्त संवेदनशील र प्रभावशाली निर्वाचन क्षेत्र मानिन्छ। यहाँको नतिजाले मधेसको जनमत मात्र होइन, राष्ट्रिय राजनीतिले लिने दिशासमेत संकेत गर्ने विश्वास गरिन्छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि विद्रोही बनेर स्वतन्त्र उम्मेदवारी दिएका डा। अमरेशकुमार सिंह यही क्षेत्रबाट विजयी भएका थिए। २०७४ मा तत्कालीन जसपाका राकेश मिश्र र २०७९ मा कांग्रेसका नागेन्द्रकुमारलाई पराजित गर्दै उनले आफ्नो व्यक्तिगत प्रभाव प्रमाणित गरेका थिए। तर २०८२ को चुनावी मैदानमा अमरेश सिंहका लागि परिस्थिति विगतजस्तो अनुकूल देखिँदैन।

यस क्षेत्रमा शिवपूजन यादव एउटा यस्तो नाम हो, जसलाई नजरअन्दाज गरेर चुनावी नतिजाको अनुमान गर्न सकिँदैन। विगतमा माओवादी केन्द्रबाट राजनीतिमा प्रभाव जमाएका शिवपूजनले यसपटक आफ्ना छोरा अमनिशकुमार यादवलाई नेकपा एमालेको सूर्य चिन्हबाट मैदानमा उतारेका छन्। रामनगर, बलरा र गोडैता क्षेत्र शिवपूजनको प्रभाव क्षेत्र मानिन्छ। २०७९ को निर्वाचनमा उनकी छोरी मधुमालाले स्वतन्त्र रूपमा झण्डै १५ हजार मत ल्याउनु यो समूहको ‘भोट बैंक’ को प्रमाण हो। अहिले एमालेको संगठित मत र शिवपूजनको यादव–दलित समीकरण जोडिँदा अमनिश यादव बलियो प्रतिस्पर्धीका रूपमा उभिएका छन्।

अमरेशका लागि ‘फलामको चिउरा’

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिन्ह लिएर मैदानमा उत्रिएका डा। सिंहलाई चुनाव जित्नु “फलामको चिउरा चपाउनु” सरह हुने स्थानीय राजनीतिक विश्लेषकहरूको ठम्याइ छ। २०७९ मा उनले असन्तुष्ट कांग्रेसी मतको ठूलो साथ पाएका थिए। तर अहिले कांग्रेस सभापति गगन थापा स्वयं उम्मेदवार बनेपछि त्यो मत जोगिन कठिन देखिन्छ।

स्थानीय तहमा अमरेश कमजोर देखिनुका पछाडि सात कारणहरू चर्चामा छन्। गगन थापाजस्तो ‘हेभीवेट’ उम्मेदवारको उपस्थितिले कांग्रेसभित्रको विद्रोही मत पुनः मूलधारमा फर्किएको छ। विगतमा प्रयोग हुँदै आएको जातीय भावनाको कार्ड यसपटक प्रभावहीन देखिएको छ, किनकि उही समुदायका अन्य बलिया उम्मेदवार पनि मैदानमा छन्। कुशवाहा र सहनी समुदायका आफ्नै उम्मेदवार हुँदा अमरेशको परम्परागत मताधारमा चिरा परेको छ। यादव समुदायभित्रको तीनतर्फी विभाजनले उनलाई थप घाटा पुग्ने आँकलन गरिएको छ।

दलित, विपन्न र सीमान्तकृत समुदायको मत, जसलाई अमरेशले आफ्नो ‘बगलीको भोट’ ठान्दै आएका थिए, अहिले जनमत पार्टीका राकेश मिश्रतर्फ मोडिएको देखिन्छ। यसबाहेक, काठमाडौँमा मेयर बालेन शाहले फुटपाथ पसले र कवाड व्यवसायीमाथि गरेको कारबाहीप्रति मधेसी समुदायमा रहेको असन्तुष्टि रास्वपाविरुद्ध प्रतिशोधका रूपमा देखा पर्ने दाबी पनि स्थानीय रूपमा सुनिन थालेको छ।

त्यसमाथि, मधेसमा मुख्यमन्त्री बन्ने आकांक्षा बोकेका प्रदेश सांसद विरेन्द्र सिंहले गगन थापालाई सर्लाही–४ ल्याउन खेलेको भूमिकाले कांग्रेसको सम्पूर्ण शक्ति गगनतर्फ केन्द्रित भएको छ, जुन अमरेशका लागि झन् प्रतिकूल बन्दै गएको छ। बाहिरी रूपमा गगन थापा र अमरेश सिंहबीच प्रतिस्पर्धा देखिए पनि स्थानीय राजनीतिक धरातलमा भने गगनको मुख्य टक्कर जनमत पार्टीका उम्मेदवार राकेश मिश्रसँग हुने विश्लेषण गरिँदै छ।

राकेश मिश्र सर्लाही–४ का लागि अपरिचित नाम होइनन्। २०७४ को निर्वाचनमा उनी अमरेशका मुख्य प्रतिस्पर्धी थिए। किसान आन्दोलनबाट उदाएका मिश्रले उखु किसानले चिनी मिलबाट पाउनुपर्ने एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम दिलाउन खेलेको भूमिकाले उनलाई ‘किसानको नेता’ का रूपमा स्थापित गराएको छ। यही कारण यसपटक ‘हर्न’ छापमा किसान समुदायको ठूलो मत आउने अपेक्षा गरिएको छ।

जनमत पार्टीको ‘अर्गानिक’ गणित

जनमत पार्टीले सर्लाही–४ लाई आफ्नो आधार क्षेत्र बनाइसकेको दाबी गर्छ। यहाँ मात्र पार्टीका ४५ हजारभन्दा बढी संगठित सदस्य रहेको भनाइ छ।
गत निर्वाचनमा राकेश मिश्रले ५ हजार ८१३ मत ल्याएका थिए। यसपटक भने उनीसँग संगठित सदस्य, किसान आन्दोलनको साख र प्रभावशाली नेताहरूको साथ छ। २०७९ मा अमरेशलाई जिताउन भूमिका खेलेका गोडैताका रामबाबु साह र रामचन्द्र साह अहिले जनमतमा छन्। बलरा र रामनगर क्षेत्रमा प्रभावशाली पूर्व माओवादी नेता श्रीचन यादव जनमतका जिल्ला इन्चार्ज बनेपछि पार्टी संगठन थप मजबुत बनेको छ।

यस क्षेत्रमा रहेका करिब १० हजार ब्राह्मण मत पनि ‘मधेसी ब्राह्मण’ राकेश मिश्रतर्फ आकर्षित हुने सम्भावना देखिन्छ। कांग्रेस, एमाले र जसपाभित्रको असन्तुष्टि तथा परिवारवादविरुद्धको मत पनि जनमततर्फ सर्ने स्थानीय विश्लेषण छ।

सर्लाही–४ मा यादव समुदाय निर्णायक मानिन्छ। तर यसपटक यादव मत तीन ठूला शक्तिमा विभाजित भएको छ। एमालेबाट शिवपूजन यादवका छोरा अमनिशकुमार यादव, जसपाबाट पूर्वमन्त्री रामेश्वर राय यादव र नेकपा ९कम्युनिस्ट पार्टी० बाट डा। रजनीश यादव मैदानमा छन्। यस खण्डीकरणको प्रत्यक्ष लाभ कांग्रेसका गगन थापा र जनमतका राकेश मिश्रलाई पुग्ने आकलन गरिएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाका लागि सर्लाही–४ को चुनाव प्रतिष्ठाको लडाइँ हो। तर मधेसको ‘कोर’ क्षेत्रमा पहाडी मूलका उम्मेदवारलाई मतदाताले कति सहज रूपमा स्वीकार गर्छन् भन्ने प्रश्न उनका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। कांग्रेसभित्रै विरेन्द्र सिंह र सुरेन्द्र सिंहले आफ्नो राजनीतिक परिवारवाद जोगाउन गगनलाई यहाँ ल्याएको भन्ने असन्तुष्टि पनि सुनिन्छ। त्यसमाथि, गगनको मतको ठूलो हिस्सा जनमत पार्टीले काट्ने सम्भावना रहेको स्थानीय बुद्धिजीवीहरूको ठम्याइ छ।

५१ वडा र १ लाख २१ हजार १२ मतदाता रहेको सर्लाही–४ मा उम्मेदवार धेरै भएकाले यसपटक २० देखि २५ हजार मत ल्याउने उम्मेदवारले जित निकाल्ने सम्भावना देखिएको छ। समग्रमा, सर्लाही–४ को चुनावी मैदान विद्रोह जोगाउन चाहने अमरेश, नयाँ राजनीतिक आधार खोजिरहेका गगन र किसानका अधिकारलाई केन्द्रीय मुद्दा बनाएका राकेश मिश्रबीचको त्रिकोणात्मक भिडन्तमा परिणत भएको छ।

स्थानीय मतदाता अब नाराभन्दा कामको हिसाबकिताब गर्न थालेका छन्। फागुन २१ को नतिजाले मधेसमा नयाँ शक्तिको उदय हुन्छ कि पुरानै विरासत कायम रहन्छ— त्यो हेर्न बाँकी नै छ। तर यति भने पक्का छ, सर्लाही–४ को फैसला देशको भावी राजनीतिमा टाढासम्म प्रतिध्वनित हुनेछ।


सम्बन्धित समाचार