२४ माघ,काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा आज शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्।
प्रहरीका अनुसार वनभोज खान खोलातर्फ गएका बालकहरूले त्यहाँ भेटिएको खेलौनाजस्तो देखिने वस्तुलाई चुल्हो नजिक राखेका थिए। सोही क्रममा उक्त वस्तु अचानक विस्फोट हुँदा उनीहरू छर्राले लागेर घाइते भएका हुन्।
घाइते हुनेमा रुपनी गाउँपालिका–६ निवासी ११ वर्षीय साहस मगर, ९ वर्षीय प्राशिस थापा मगर, १६ वर्षीय कविर थापा मगर र १३ वर्षीय सुरज विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले उक्त वस्तु बम हुनसक्ने आशंका गरिएको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
















