Logo

२५ माघ, काठमाडौँ । शनिबार निधन भएका वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शनिबार साँझ विभिन्न कलाकार तथा चलचित्रसम्बद्ध संघसंस्थाबीचको छलफलपछि श्रद्धाञ्जली कार्यक्रम बोर्ड परिसरमा आयोजना गर्ने निर्णय गरिएको हो ।

अध्यक्ष निरौलाले परिवारको चाहनाअनुसार श्रद्धाञ्जलीअघि शवको पोस्टमार्टम गरिने जानकारी दिए। “परिवारका सदस्यले पोस्टमार्टम गर्नुपर्ने बताउनुभएको छ, त्यसपछि मात्र विकास बोर्डमा श्रद्धाञ्जलीका लागि राखिनेछ,” उनले भने ।

६८ वर्षको उमेरमा हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको हो। काठमाडौंको शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। उनले बलिउड र नेपाली गरी तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ पात्रलाई नायकसरह चर्चा र सम्मान दिलाउने कलाकारका रूपमा थापा परिचित थिए । विशेषगरी फिल्म ‘चिनो’ मा निर्वाह गरेको ‘राते काइँला’ पात्रमार्फत उनले छुट्टै पहिचान बनाएका थिए, जुन नामले उनी दर्शकमाझ आजसम्म स्मरणीय छन् ।

थापा नेपालमा एक्लै बस्दै आएका थिए भने उनका परिवारका अन्य सदस्य भारतको मुम्बईमा बसोबास गर्दै आएका छन् । चलचित्रकर्मीहरूले उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्ने तयारी गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै