२५ माघ, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र व्यवस्थित बनाउन निर्वाचन आयोगले आवश्यक सामग्री व्यवस्थापनको कामलाई तीव्रता दिएको छ ।
आयोगले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरूलाई दुई तहमा वर्गीकरण गर्दै केही महत्वपूर्ण सामग्री केन्द्रबाटै पठाउने र केही जिल्लास्तरमै व्यवस्थापन गर्ने नीति लिएको छ। सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार आयोगले विशेष सुरक्षा र गुणस्तर आवश्यक पर्ने ९ प्रकारका सामग्रीहरू केन्द्रबाट प्रत्येक निर्वाचन क्षेत्रमा सिधै पठाउने तयारी पूरा गरेको छ।
केन्द्रबाट पठाइने सामग्रीहरूमा मतदानको गोपनीयता र सुरक्षासँग जोडिएका सुरक्षणशील छाप, मतदान केन्द्रका लागि आवश्यक छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड र त्यसको मसी रहेका छन्। यसैगरी, दुई भिन्न प्रकारका स्वस्तिक छाप र मतपेटिकामा टाँसिने विशेष स्टिकरहरू पनि आयोगले केन्द्रबाटै उपलब्ध गराउनेछ। निर्वाचनको विश्वसनीयता कायम राख्न र देशभर एकरुपता ल्याउन यी संवेदनशील सामग्रीहरूको व्यवस्थापन आयोग आफैँले गर्न लागेको हो।
अर्कोतर्फ, मतदान प्रक्रियामा आवश्यक पर्ने अन्य ३७ प्रकारका सहायक सामग्रीहरूको व्यवस्थापन भने जिल्ला तहमै गरिने भएको छ। यसमा कार्यालय प्रयोजनका लागि चाहिने डायरी, स्टाप्लर, पञ्चिङ मेसिन, स्केल, विभिन्न प्रकारका परिचयपत्र होल्डर, प्लास्टिक झोला, बोरा र प्याकिङ टेप जस्ता सामग्रीहरू समावेश छन्। त्यस्तै, प्रशासनिक कार्यका लागि आवश्यक खाम, सेतो कागज, धागो, सियो, मैनबत्ती र जेल पेन जस्ता स्टेसनरी सामानहरू पनि स्थानीय तहमै खरिद र व्यवस्थापन गर्ने गरी आयोगले कार्ययोजना तय गरेको छ। यस व्यवस्थापनले निर्वाचनको अन्तिम तयारीलाई थप सहज र द्रुत बनाउने विश्वास लिइएको छ।
















