Logo

२७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक प्रतिवेदनअनुसार सरकारी ढुकुटीमा नगद मौज्दातको अवस्था उत्साहजनक देखिएको छ ।

पुस मसान्तसम्ममा संघीय, प्रदेश र स्थानीय सरकारका विभिन्न खाताहरूमा गरी कुल २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । गत असार मसान्तमा १ खर्ब ४९ अर्ब ८३ करोड रुपैयाँ मात्र रहेको यस्तो मौज्दातमा ६ महिनाको अवधिमा १ खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ थपिएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाउँछ ।

सरकारको आम्दानी र खर्चको सन्तुलनलाई हेर्दा समीक्षा अवधिमा कुल राजस्व परिचालन ५ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। यसमध्ये कर राजस्वबाट ५ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्वबाट ६१ अर्ब २८ करोड रुपैयाँ संकलन भएको छ । आम्दानीको तुलनामा खर्चको रफ्तार भने केही बढी देखिएको छ, जहाँ सरकारले ६ महिनाको अवधिमा कुल ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

खर्चको संरचनामा प्रशासनिक तथा साधारण प्रकृतिको चालु खर्चले ठूलो हिस्सा ओगटेको छ। कुल खर्चमध्ये ४ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँ चालु खर्चमा सकिँदा विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च भने ४९ अर्ब ४३ करोड रुपैयाँमा मात्र सीमित देखिएको छ । यसैगरी, वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको राष्ट्र बैंकले जनाएको छ । सरकारी खातामा पर्याप्त नगद मौज्दात रहे पनि पुँजीगत खर्चको न्यून दरले विकास निर्माणका कार्यमा अपेक्षित गति लिन नसकेको संकेत गर्दछ ।


सम्बन्धित समाचार