२६ माघ,काठमाडौं । दाङको घोराही उपमहानगरपालिका वडा नं १६ सेवार खोलामा सोमबार मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, रोल्पाको त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र दाङको तुलसीपुर उपमहानगरपालिका–१७ झिंगई बस्ने ३९ वर्षीय कमल ओलीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा लु प्र ०२००१ प ११०२ नम्बरको मोटरसाइकल पल्टिएको स्थान नजिकै दुई व्यक्ति लडिरहेको सूचना पाएपछि घटनास्थलमा पुगेको थियो। उनीहरुलाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
















