Logo

 २६ माघ,विराटनगर । उर्लाबारीका सनम शाक्य हत्या र करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ। यसअघि जिल्ला अदालत मोरङले उनलाई कर्तव्य ज्यानमा जन्मकैद (२० वर्ष) फैसला सुनाएको थियो। उच्च अदालतको पछिल्लो फैसलाले गोरेमाथि अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दामा १० वर्ष थपिएको छ।

यो प्रकरण मुलुककै आपराधिक इतिहासमा सबैभन्दा चर्चित, जटिल र विवादास्पद प्रकरणमध्ये पर्छ। सनम शाक्यको हत्या र सुन तस्करी प्रकरणले नेपाली न्याय प्रणालीमाथि पनि ठूलो प्रश्न उठाएको थियो।

उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले माघ २० गतेदेखि नियमित सुनुवाइ गर्दै आइतबार राति अन्तिम फैसला सुनाएको हो। यस क्रममा नेपाल सरकार र प्रतिवादीतर्फ ६ जनासहित दुवै पक्षबाट दायर पुनरावेदन एकसाथ सुनुवाइमा राखिएको थियो।

उच्च अदालतले गोरेसहित लाक्पा शेर्पा र भविन राई (भविन तामाङ)को पुनरावेदन अस्वीकृत गर्दै जिल्ला अदालतको फैसला यथावत राखेको छ। तर कृष्ण (नरेन्द्र कार्की), मोहन काफ्ले र भोजे मामा (भोजराज भण्डारी)लाई जन्मकैदको सट्टा १०–१० वर्ष कैदमा सजाय संशोधित गरिएको छ। यसरी, गोरे र उनका नजिकका सहयोगीमाथि अदालतले थप कडा सजाय सुनाएको छ।

उल्लेखनीय छ कि यी अभियुक्त सनम शाक्यको शव २०७४ फागुन १९ गते विराटनगरबाट बरामद हुँदा पक्राउ परेका थिए। उच्च अदालतले मदन सिलवाललाई कर्तव्य ज्यानमा दोषी ठहर गर्दै ३ वर्ष कैद सुनाएको छ। अन्य संगठित अपराध र भन्सार चोरीसम्बन्धी अभियोगमा अदालतले अधिकांश प्रतिवादीलाई ‘दाबी नपुग्ने’ ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरेको छ।


सम्बन्धित समाचार