२७ माघ, काठमाडौं । काठमाडौँको आकाश फेरि एकपटक बाक्लो र प्रदूषित हावाको घेराबन्दीमा परेको छ, जसका कारण उपत्यकावासीको जनस्वास्थ्यमा गम्भीर चुनौती थपिएको छ ।
जाडोयामको सुरुआतसँगै खराब बन्दै गएको वायुको गुणस्तरले आज अस्वस्थताको तहलाई समेत पार गरेको छ । स्विट्जरल्याण्डको आईक्यू एयरको पछिल्लो तथ्यांक अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक १७१ पुगेको छ, जुन स्वास्थ्यका दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ ।
सामान्यतया १५० भन्दा माथिको सूचकांकलाई अस्वस्थ मानिने सरकारी मापदण्ड रहेकाले अहिले उपत्यकाको हावा सास फेर्न योग्य नरहेको संकेत गर्दछ ।
यस बढ्दो प्रदूषणले काठमाडौँलाई विश्वकै प्रदूषित सहरहरूको सूचीमा १०औँ स्थानमा पुर्याएको छ । दक्षिण एसियाली छिमेकी सहरहरू भारतको दिल्ली र बंगलादेशको ढाका क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै अत्यन्तै खतरनाक र निकै अस्वस्थ अवस्थाबाट गुज्रिरहेका छन् । दिल्लीको प्रदूषणले त ३०० को सीमा नाघेर ुखतरनाकु तह छोएको छ भने ढाका पनि २८८ को ुनिकै अस्वस्थु स्तरमा रहेको छ । छिमेकी देशहरूमा देखिएको यो भयावह अवस्था र काठमाडौँको बढ्दो ग्राफले यहाँको वायुमण्डलीय सुरक्षामा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ ।
नेपाल सरकारले तय गरेको सूचकांक अनुसार ५० सम्मकोलाई मात्र राम्रो मानिन्छ भने अहिलेको १७१ को स्थितिले बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरूलाई मात्र नभई स्वस्थ मानिसहरूलाई समेत असर पुर्याउन सक्छ । यदि यो तह ३०० भन्दा माथि पुगेमा त्यसलाई विपद् सरहको खतरनाक अवस्था मानिने गरिन्छ । वायुमण्डलमा थुप्रिएका धुलोका कण र धुवाँका कारण उपत्यकाको भिजिबिलिटी समेत घट्दै गएको छ, जसले गर्दा जनजीवन कष्टकर बन्ने जोखिम बढेको छ ।
















