Logo

२७ माघ, काठमाडौं । सिरहा कारागारभित्र हतियार बरामद भएपछि सुरु भएको कैदीबन्दीको आन्दोलनले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको आपत्कालीन बैठक बसेको छ ।

कारागारभित्रै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको कमान्डमा बसेको उक्त बैठकमा सुरक्षा निकायका प्रमुखहरूबीच कारागारको सुरक्षा सुदृढीकरण र प्रदर्शन साम्य पार्ने विषयमा गम्भीर छलफल भएको छ । सोमबार कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट कटुवा पेस्तोल, गोली र नगद बरामद भएपछि उनलाई अन्यत्र स्थानान्तरण गरिएको विरोधमा कैदीहरूले रातभर छतमा चढेर नाराबाजी र प्रदर्शन गरेपछि कारागार क्षेत्र तनावग्रस्त बनेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कारागारभित्र अवैध मदिरा, लागुऔषध कारोबार र असुली भइरहेको सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनले गम्भीर सुरक्षा त्रुटि उजागर गरेको छ । हतियारसहित पक्राउ परेका नाइके यादव र अन्य ११ जना कैदीलाई नुवाकोट, काठमाडौं र रौतहट कारागार पठाइए पनि भित्र रहेका अन्य कैदीहरूले भने उनीहरूको फिर्तीको माग गर्दै थाली ठटाएर विरोध जारी राखेका छन् । सोमबार राति प्रहरीले पानीको फोहोरा प्रयोग गरेर भिड तितरबितर पार्न खोज्दा कैदीहरूले समेत प्रतिकार गरेपछि अवस्था केही समय निकै भयावह बनेको थियो ।

१५० जनाको क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी रहेका छन्, जसले गर्दा व्यवस्थापन र सुरक्षामा थप चुनौती थपिएको छ । कारागारभित्रै हतियार र गोली फेला पर्नुले सुरक्षा निकायको प्रभावकारितामाथि प्रश्न उठाएको छ भने प्रशासनले अहिले कारागारको भित्र र बाहिरको सुरक्षालाई अत्यन्तै कडा पारेको छ । कर्तव्य ज्यान र डाँका जस्ता गम्भीर मुद्दाका कैदीहरूको नेतृत्वमा भएको यो विद्रोहलाई शान्त पार्न र कारागारको आन्तरिक प्रशासनलाई सुधार्न सुरक्षा समितिले कडा कदम चाल्ने तयारी गरेको छ ।


सम्बन्धित समाचार