२७ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सेवा शुल्क दाबी गर्दा न्यूनतम दररेट मात्र कायम गर्न कडा निर्देशन जारी गरेको छ ।
बोर्डले दाबी प्रक्रियामा एकरूपता ल्याउन, वित्तीय सन्तुलन कायम राख्न र बढ्दो अनावश्यक खर्चलाई न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय लिएको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार औषधिलगायतका विभिन्न स्वास्थ्य सुविधाहरूमा जुन दररेट कम छ, त्यही दररेटमा मात्र दाबी भुक्तानी माग गर्न स्वास्थ्य संस्थाहरूलाई स्पष्ट परिपत्र गरिएको छ ।
नयाँ व्यवस्था अनुसार यदि अस्पतालको आफ्नै दररेट बीमा बोर्डले तोकेको भन्दा कम छ भने अस्पतालले आफ्नै दररेटमा दाबी गर्नुपर्नेछ । तर, अस्पतालको शुल्क बोर्डको मापदण्ड भन्दा महँगो भएको खण्डमा भने बोर्डले तोकेकै अधिकतम सीमाभित्र रहेर दररेट पेश गर्नुपर्ने बाध्यकारी नियम बनाइएको छ । यो नियम मेडिकल र सर्जिकल प्याकेज, प्रयोगशाला परीक्षण, फिजियोथेरापी, रेडियोलोजी र शैय्या शुल्क जस्ता सबै प्रकारका सेवाहरूमा लागू हुनेछ ।
आगामी फागुन १ गतेदेखि कार्यान्वयनमा आउन लागेको यो व्यवस्थाले बीमा कोषको अनावश्यक व्ययभार कम गर्ने अपेक्षा गरिएको छ । यसअघि पनि बोर्डले स्वास्थ्य संस्थाहरूलाई सेवाग्राहीको अनावश्यक स्वास्थ्य परीक्षण नगराउन अपिल गर्दै आएको थियो। यस कदमले सरकारी बीमा कार्यक्रमको दीर्घकालीन स्थायित्व र पारदर्शितालाई टेवा पुऱ्याउने विश्वास बोर्डले लिएको छ ।
















