२७ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा देखिने राजनीतिक स्टन्ट र वास्तविक धरातलबीच आकाश–जमिनको अन्तर रहेको दाबी गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय डिजिटल माध्यमबाट सिर्जना गरिएको भ्रमको खेती अब धेरै दिन नटिक्ने जिकिर गर्नुभयो । विशेष गरी काठमाडौँ उपत्यका जस्ता क्षेत्रमा जनताले नयाँ भनिएका शक्तिहरूको कार्यशैली नजिकबाट हेरिसकेको र उनीहरूको प्रभाव ओरालो लाग्न थालेको प्रचण्डको विश्लेषण छ । उहाँले नयाँ ठाउँमा भ्रम छर्न सजिलो हुने भए पनि अनुभव र कामको कसीमा घोटिएपछि जनताले हल्लाखोर र काम गर्ने शक्तिबीचको फरक छुट्याउन थालिसकेको बताउनुभयो ।
प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा हुने यस्ता सुनियोजित प्रचारबाजीको तर्कपूर्ण ढङ्गले खण्डन गर्न निर्देशन समेत दिनुभएको छ । उहाँका अनुसार जहाँ–जहाँ नयाँ शक्तिहरूले जितेका छन्, त्यहाँ उनीहरूको लोकप्रियता खस्कँदो छ र जनता बिस्तारै भ्रममुक्त हुँदैछन्। राजनीति केवल भिडियो र स्टन्टमा सीमित नहुने भन्दै उहाँले फिल्डमा गएर जनताको समस्यासँग जोडिन कार्यकर्तालाई आग्रह गर्नुभयो। ‘जनताले नेताहरूलाई परख गरिसकेका छन्, अब हल्लाको भरमा देश चल्दैन,’ भन्दै उहाँले आगामी निर्वाचनलाई नै राजनीतिक सङ्कटको वैज्ञानिक र वस्तुवादी निकासका रूपमा अर्थ्याउनुभयो ।
मुलुक अहिले पूर्ण रूपमा निर्वाचनतर्फ केन्द्रित भइरहेको अवस्थामा कतिपय शक्तिहरू अझै पनि निर्वाचन सार्ने वा संसद् पुनःस्थापनाको अल्झनमा रहेको भन्दै प्रचण्डले त्यसको आलोचना गर्नुभयो । चुनौतीपूर्ण घडीमा पनि देशको राजनीतिलाई सहज बनाउन कम्युनिस्ट पार्टीले खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचन नेपाली कम्युनिस्ट पार्टीका लागि एउटा ठूलो अवसर भएको बताउनुभयो । निर्वाचनबाट भाग्न खोज्ने शक्तिहरू जनताको अभिमतसँग डराएको आरोप लगाउँदै उहाँले अबको सम्पूर्ण ध्यान चुनावी तयारी र सङ्गठन सुदृढीकरणमा लगाउनुपर्नेमा जोड दिनुभयो ।
















