Logo

२८ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित मुलुकका १० जना हाई प्रोफाइल व्यक्तित्वहरूलाई ज्यान मार्ने धम्की दिएर फरार रहेका प्रकाश पाठकलाई नेपाल ल्याइएको छ ।

इन्टरपोलको सहयोगमा फिलिपिन्समा पक्राउ परेका काभ्रेका पाठकलाई लिन नेपाल प्रहरीको विशेष टोली त्यहाँ पुगेको थियो। काठमाडौँ परिसरका एसएसपी रमेश थापाका अनुसार पाठकविरुद्ध जारी गरिएको ‘डिफ्युजन नोटिस’ का आधारमा उनलाई लोकेट गरी बुधबार काठमाडौँ ल्याइएको हो । प्रहरीले उनलाई लिन इन्टरपोल शाखाका एसपी रुपेश खड्का नेतृत्वको टोली फिलिपिन्स पठाएको थियो ।

आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो र अडियो सार्वजनिक गर्दै पूर्वमन्त्रीदेखि सुरक्षा निकायका पूर्वप्रमुखहरूसम्मलाई प्रहार गर्ने धम्की दिएका थिए । उनको निसानामा लोकमानसिंह कार्की, बालकृष्ण खाण, आरजु राणा, दुर्गा प्रसाईं, र रमेश लेखकसहितका प्रभावशाली व्यक्तिहरू रहेका थिए । धम्की दिएलगत्तै उनी भारत र इन्डोनेसिया हुँदै लुक्नका लागि फिलिपिन्स पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । डिजिटल प्लेटफर्मको दुरुपयोग गरी त्रास फैलाएको र राज्यका उच्च पदाधिकारीको सुरक्षामा चुनौती थपेको अभियोगमा उनीमाथि अब कानुनी कारबाही अघि बढाइनेछ ।

प्रहरीले पाठकको यो आपराधिक सञ्जालमा जोडिएका अन्य तीन जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । धादिङका शरणजङ्ग शाही, सर्लाहीका तोरण थापा मगर र बर्दियाका धिरेन्द्र सुनार यसअघि नै नियन्त्रणमा परेका थिए, जसबाट पाठकको योजना र सञ्जालबारे थप तथ्यहरू फेला परेका छन् । विदेशमा बसेर प्रविधिको प्रयोग गरी धम्क्याउने र आपराधिक गतिविधि गर्नेहरू इन्टरपोलको फन्दाबाट उम्कन सक्दैनन् भन्ने सन्देश यो घटनाले दिएको छ ।


सम्बन्धित समाचार
भर्खरै