Logo

२८ माघ, काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको भीषण बस दुर्घटनाको घाउ सेलाउन नपाउँदै बुधबार बिहानैदेखि मन्थली–खुर्कोट सडकखण्ड तनावग्रस्त बनेको छ ।

तामाकोसी नदीमा बस खस्दा १२ जनाले ज्यान गुमाएको उक्त हृदयविदारक घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै स्थानीय बासिन्दाहरू आन्दोलित भएका हुन् । दुर्घटना भएको लामो समय बितिसक्दा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले मृतकका परिवारप्रति समवेदना र घाइतेको उपचारमा पर्याप्त चासो नदेखाएको भन्दै आक्रोशित भीडले सडकमा टायर बालेर यातायात ठप्प पारेको छ ।

आन्दोलनका कारण काठमाडौँबाट आएका सवारी साधनहरू खुर्कोटमै रोकिएका छन् भने मन्थली भित्रिएका गाडीहरूलाई आकाशे क्षेत्र र गाउँबाट छुटेका सवारीलाई खिम्तीमै अवरुद्ध गरिएको छ । प्रदर्शनकारीहरूले मृतकका परिवारलाई तत्काल उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरूको निःशुल्क र सहज उपचारको व्यवस्था मिलाउनुपर्ने तथा दुर्घटनाको मुख्य कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन् । सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने स्थिति नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मंगलबार काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस अनियन्त्रित भई तामाकोसीमा खस्दा जिल्लाले ठुलो मानवीय क्षति व्यहोर्नुपरेको थियो । स्थानीयले यातायात व्यवसायीहरूको लापरबाही र जीर्ण सडकका कारण यस्ता घटना बारम्बार दोहोरिने गरेको आरोप लगाएका छन् । प्रशासनले वार्ताको प्रयास गरिरहेको भए पनि स्थानीयले ठोस सहमति नभएसम्म सडक नखोल्ने अडान लिएका छन्, जसका कारण रामेछापको जनजीवन थप प्रभावित बनेको छ ।


सम्बन्धित समाचार