Logo

२८ माघ, काठमाडौं । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको अवैध कारोबारमा संलग्न रहेको अभियोग लागेका बाराका २४ वर्षीय मोहम्मद सेफलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।

न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले बुधबार सेफमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको कसुरमा प्रारम्भिक प्रमाणहरू देखिएको भन्दै उनलाई कारागार पठाउने निर्णय गरेको हो । गत मंसिर १० गते काठमाडौँको भद्रकालीबाट शंकास्पद अवस्थामा पक्राउ परेका सेफको साथबाट बरामद भएका मोबाइल उपकरणहरूको प्राविधिक जाँच गर्दा अवैध वित्तीय कारोबारको सञ्जाल फेला परेको थियो।

प्रहरी अनुसन्धानका क्रममा सेफले ‘बाइनन्स’ जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्म प्रयोग गरी यूएसडीटी बोओएनके र पीईपीई जस्ता विभिन्न क्रिप्टोकरेन्सीहरूमा ठुलो परिमाणमा कारोबार गरेको खुलेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनले गैरकानुनी बाटोबाट १९ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको निष्कर्ष निकाल्दै अदालतमा मुद्दा दायर गरेको थियो । अभियोग पत्रमा सोही बराबरको सम्पत्ति जफत गर्न, बिगोको दोब्बर जरिवाना गर्न र कसुरको गम्भीरता अनुसार २ देखि १५ वर्षसम्मको कैद सजायको मागदाबी गरिएको छ ।

यस मुद्दामा बरामद गरिएका डिजिटल उपकरण र सिम कार्डहरूलाई समेत प्रमाणका रूपमा जफत गर्न माग गरिएको छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई पूर्णतः अवैध घोषणा गरेको अवस्थामा यति ठुलो रकमको कारोबार फेला पर्नुलाई सुरक्षा निकायले गम्भीरतापूर्वक लिएको छ । अदालतको यो आदेशसँगै अब सेफले जेलभित्रै बसेर मुद्दाको अन्तिम फैसला कुर्नुपर्नेछ । यो घटनाले प्रविधिको आडमा हुने वित्तीय अपराधमा राज्यले लिएको कडा नीतिको पुनः पुष्टि गरेको छ ।


सम्बन्धित समाचार