२८ माघ, काठमाडौं । आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनुषा क्षेत्र नम्बर ३ को राजनीतिक समीकरणमा नाटकीय मोड आएको छ ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सोही क्षेत्रका उम्मेदवार राजीव झा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आफ्नै उम्मेदवारी रहेको अवस्थामा पार्टी परित्याग गरी झा रास्वपामा प्रवेश गरेपछि स्थानीय राजनीतिमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जनकपुरधाममा आयोजित एक विशेष समारोहका बीच रास्वपाका उम्मेदवार मनिष झाले उनलाई पार्टीमा स्वागत गर्दै चुनावी अभियानमा एकबद्ध बनाएका हुन् ।
झासँगै राष्ट्रिय मुक्ति पार्टीका अन्य उल्लेख्य कार्यकर्ताहरू पनि रास्वपामा प्रवेश गरेका छन्, जसले गर्दा सो क्षेत्रमा राजेन्द्र महतोको दललाई ठुलो संगठनात्मक धक्का लागेको छ । नवप्रवेशी झालाई पार्टीमा स्वागत गर्दै रास्वपा उम्मेदवार मनिष झाले यो ध्रुवीकरणले धनुषामा परिवर्तनको लहरलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । मधेसको राजनीतिमा सक्रिय र स्थापित अनुहार मानिने राजीव झाको यो कदमले धनुषा–३ मा चुनावी प्रतिस्पर्धालाई झन् रोचक बनाएको छ भने मधेस केन्द्रित अन्य दलहरूमा समेत यसले हलचल पैदा गरेको छ ।
















